काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल शासन र साइबर सुरक्षा नीतिका अन्तर्राष्ट्रिय विज्ञ निक एस्टर्न–हार्ट नेपाल आइपुगेका छन्। संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्यसमेत रहेका उनी ‘नेसनल एआई समिट २०२६’ मा सहभागी हुन बिहीबार काठमाडौं आएका हुन्।
शनिबार राजधानीस्थित होटल हिमालयमा आयोजना हुने सम्मेलनमा एस्टर्न–हार्ट प्रमुख वक्ताका रूपमा सहभागी हुने डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार उनले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता विकासशील मुलुकले कसरी आफ्नो पहिचान र स्थान स्थापित गर्न सक्छन् भन्ने विषयमा धारणा राख्नेछन्। उनको सम्बोधनमा अन्तर्राष्ट्रिय एआई प्रतिस्पर्धा, डिजिटल सार्वभौमिकता तथा नेपालमा कृत्रिम बुद्धिमत्ताको रणनीतिक सम्भावना र चुनौतीका विषय समेटिनेछन्।
एस्टर्न–हार्ट लामो समयदेखि डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, डिजिटल गभर्नेन्स र साइबर सुरक्षासम्बन्धी नीतिगत क्षेत्रमा सक्रिय रहँदै आएका छन्। दुई दशकभन्दा बढी समयदेखि संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र, बहुराष्ट्रिय कम्पनी र विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै डिजिटल अर्थतन्त्र तथा प्रविधिसम्बन्धी नीति निर्माणमा योगदान दिँदै आएको आयोजकले जनाएको छ।
यस वर्षको सम्मेलन ‘फ्रम प्रमिस टु प्रोग्रेस : अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ अर्थात् ‘प्रतिबद्धतादेखि प्रगतिसम्म : नेपालको कृत्रिम बुद्धिमत्ता क्षमता विस्तार’ भन्ने मूल नारामा केन्द्रित हुनेछ।
एकदिने सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत एआई तथा प्रविधि क्षेत्रका विज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता, उद्यमी र सञ्चारकर्मी सहभागी हुने आयोजकले जनाएको छ।
