शनिबार काठमाडौँको होटल हिमालयमा आयोजना हुने ‘नेसनल एआई समिट २०२६’ मा सहभागी हुन उनी बिहीबार नेपाल आएका हुन्। सम्मेलनका प्रमुख वक्ताका रूपमा एस्टन–हार्ट सहभागी हुने डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष तथा आयोजक प्रवेश सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार एस्टन–हार्टले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता विकासशील मुलुकले कसरी आफ्नो स्थान स्थापित गर्न सक्छन् भन्ने विषयमा धारणा राख्नेछन्।
उनको प्रस्तुतिमा विश्वव्यापी एआई प्रतिस्पर्धा, डिजिटल सार्वभौमिकता तथा नेपालमा कृत्रिम बुद्धिमत्ताको रणनीतिक सम्भावना र चुनौतीका विषय समेटिनेछन्।
एस्टन–हार्ट लामो समयदेखि डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, डिजिटल गभर्नेन्स र साइबर सुरक्षासम्बन्धी विश्वव्यापी नीति निर्माणमा सक्रिय रहँदै आएका छन्। दुई दशकभन्दा बढी समयदेखि उनले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र, बहुराष्ट्रिय कम्पनी तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै डिजिटल अर्थतन्त्र र प्रविधिसम्बन्धी नीति निर्माणमा योगदान पुर्याउँदै आएका छन्।
यस वर्षको सम्मेलन ‘फ्रम प्रमिस टु प्रोग्रेस : अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ अर्थात् ‘प्रतिबद्धतादेखि प्रगतिसम्म : नेपालको कृत्रिम बुद्धिमत्ता क्षमता विस्तार’ भन्ने नारामा केन्द्रित हुनेछ।
एकदिने सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत एआई तथा प्रविधि क्षेत्रका विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनमा नीतिनिर्माता, अनुसन्धानकर्ता, प्रविधि उद्यमी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमार्फत नेपालको एआई क्षमता विस्तार, प्रविधिको रणनीतिक उपयोग र विश्वव्यापी प्रतिस्पर्धामा नेपालको सम्भावनाबारे छलफल गरिने आयोजकको भनाइ छ।
