यसअघि अधिकांश फिल्ममा सहरी र आधुनिक पात्रका रूपमा प्रस्तुत हुँदै आएका अनमोलका लागि ‘बाटुलो जून’ अभिनय यात्राको नयाँ अनुभव बनेको छ। परम्परागत भूमिकाभन्दा फरक चरित्रमा आफूलाई प्रस्तुत गर्ने प्रयास गरेको उनले बताएका छन्।
करिब ३५ देखि ४० वर्षअघिको ग्रामीण परिवेशमा आधारित फिल्ममा अनमोलले काजी अर्थात् अभिमान सिंह बस्नेतको भूमिका निभाएका छन्। उक्त पात्र सहरमा शिक्षा हासिल गरेर गाउँ फर्किने र ग्रामीण क्षेत्रमा शिक्षाको चेतना फैलाउन सक्रिय हुने व्यक्तिका रूपमा चित्रण गरिएको छ।
फिल्मबारे अनुभव सुनाउँदै अनमोलले यसअघि आफूले सहरी जीवनशैली र आधुनिक परिवेशका कथामा बढी काम गरेकाले ग्रामीण संस्कृति र परम्परालाई नजिकबाट बुझ्ने अवसर नपाएको बताए।
फिल्मको छायाङ्कनका क्रममा नेपालको विभिन्न गाउँ र त्यहाँको जनजीवनसँग प्रत्यक्ष जोडिने अवसर पाएको उनको भनाइ छ। गाउँका दुर्गम क्षेत्रसम्म पुगेर स्थानीय संस्कृति, रहनसहन र परम्परा बुझ्न पाउनु आफ्ना लागि नयाँ अनुभव भएको उनले बताए।
ग्रामीण परिवेश र त्यहाँको जीवनशैलीलाई नजिकबाट अनुभव गर्न पाउने अवसर नै फिल्ममा काम गर्ने निर्णयको एउटा प्रमुख कारण रहेको अनमोलले उल्लेख गरेका छन्।
‘बाटुलो जून’ अनमोलका लागि अर्को कारणले पनि विशेष बनेको छ। करिब ६–७ वर्षपछि उनले आफ्ना पिता अभिनेता तथा निर्देशक भुवन केसीको निर्देशनमा अभिनय गरेका हुन्। बुबासँग पुनः काम गर्न पाउँदा निकै आनन्द लागेको अनमोलले बताएका छन्।
फिल्ममा अनमोलको जोडीका रूपमा अभिनेत्री प्रिन्सी खतिवडा देखिँदैछिन्। अनमोलले फिल्ममा आफू र प्रिन्सीको जोडी राम्रो देखिएको बताएका छन्।
करिब चार दशकअघिको नेपाली ग्रामीण समाज र परिवेशलाई कथावस्तु बनाइएको ‘बाटुलो जून’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा छ।
