काठमाडौं, २० कात्तिक । नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १७६ रनको योगफल बनायो। टोलीका लागि ओपनरद्वय शैफ जैब र विनोद भण्डारीले क्रमशः ३५ र २७ रन बनाए।
ब्रान्डन मेकमुलनले २४, इशान पाण्डेले २३ र थरिन्दु रत्नायकेले (नटआउट) २२ रनको योगदान गरे। कर्णालीका लागि मार्क वाटले दुई तथा नन्दन यादव र हुसेन तलतले समान एक विकेट हात पारे।
आज दुवै टोली जित निकाल्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाउन चाहन्छन्।
