मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार दशैंपछि दैनिक करिब दुई सय नेपाली, भारतीय तथा तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा पुगिरहेका छन्।
गत असोजमा भएको मनसुनजन्य विपद्बाट पदमार्गमा ठूलो क्षति नपुगेको र यात्रा सुरक्षित रहेकाले बिदा मनाउन चाहने युवायुवती तथा रोजगारीमा आबद्ध व्यक्तिहरूको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको गुरुङले बताए। पर्यटकको चाप बढेसँगै पदमार्गमा रहेका रेस्टुरेन्ट तथा क्याम्पहरू भरिभराउ हुन थालेका छन्।
समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। पर्यटकको आगमन बढ्न थालेपछि बेनी, भुरुङ–तातोपानी र नारच्याङ क्षेत्रका पर्यटन व्यवसायीमा पनि उत्साह थपिएको छ।
अन्नपूर्ण आधार शिविरको पारिवारिक भ्रमण पूरा गरेर बेनी फर्किएकी म्याग्दी बहुमुखी क्याम्पसकी प्राध्यापक मनिता रायमाझीले दुईदेखि तीन दिनमै पूरा गर्न सकिने यो पदयात्रा छोटो, साहसिक र मनोरम रहेको अनुभव सुनाइन्।
पर्यटकलाई सहज बनाउन हुमखोलादेखि आधार शिविरसम्मका विभिन्न स्थानमा अस्थायी पूर्वाधार निर्माण गरी चिया तथा खाजा पसल सञ्चालन गरिएको छ। साथै, खाना र आवासको सुविधासहितका होटलसमेत सञ्चालनमा आएका छन्। सन्धीखर्क, भुस्केट मेला र पञ्चकुण्ड ताल क्षेत्रमा पर्यटकका लागि आश्रयस्थल निर्माण गरिएको छ।
त्यसैगरी हुमखोला, फुतफुते झरना, गुफाफाँट, भुस्केट र पञ्चकुण्ड क्षेत्रमा खानेपानी तथा शौचालयलगायतका पूर्वाधार तयार पारिएका छन्। संघीय, प्रदेश र गाउँपालिकाको बजेटमार्फत पदमार्ग तथा झोलुङ्गे पुलहरूको मर्मतसम्भारसमेत गरिएको छ।
अन्नपूर्ण आधार शिविरमा पहिलो आरोहण दलका सदस्य मौरिस हर्जोग, लुइस लाचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक स्थापना गरिएको छ। त्यहाँ खुला संग्रहालयसमेत निर्माण गरिएको छ। गत साता पदमार्गको प्रवेशद्वार बाँसबोटमा पर्यटक सूचना केन्द्र पनि स्थापना गरिएको छ।
अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार पहिलो आरोही मौरिस हर्जोगको नामबाट यस पदमार्गको नामकरण गरिएको हो।
नेपालमा ‘जेठो हिमाल’का रूपमा चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्न मौरिस हर्जोग पदमार्ग प्रयोग गर्नुपर्छ। नारच्याङको दोभान, छोटेपा हुँदै हुमखोलासम्म करिब २० किलोमिटर सवारीसाधनबाट यात्रा गर्न सकिन्छ। त्यसपछि करिब २१ किलोमिटर पैदल यात्रा गर्दै दुई दिनमा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ।
पदयात्राका क्रममा पर्ने फुतफुते झरना, पञ्चकुण्ड ताल र वरपरका हिमाली दृश्यले यस क्षेत्रको प्राकृतिक आकर्षणलाई थप बढाएका छन्। सहज पहुँच, प्राकृतिक सुन्दरता र पर्यटकीय पूर्वाधार विस्तारसँगै अन्नपूर्ण आधार शिविर म्याग्दीको महत्त्वपूर्ण पदयात्रा गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
