पाँचधारेलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीय सरकारले आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ। यस क्षेत्रलाई समग्र धार्मिक गन्तव्यका रूपमा स्थापित गर्न ‘पाँच धाम’ निर्माणको अवधारणाअनुसार काम अघि बढाइएको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए।
स्तुपासम्म पर्यटकको सहज पहुँच पुर्याउन सिँढीसहितको पदमार्गसमेत निर्माण गरिएको छ। नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त २७ लाख रुपैयाँ बजेटमा स्तुपा निर्माण गरिएको हो। यसको निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए।
काठमाडौंस्थित बौद्धनाथ स्तुपाको संरचना र शैलीलाई आधार बनाएर निर्माण गरिएको स्तुपा २६ फिट लम्बाइ, २६ फिट चौडाइ र २१ फिट उचाइको छ। बौद्ध धर्मावलम्बीलाई लक्षित गरी निर्माण गरिएको यस संरचनाले पाँचधारेको धार्मिक पहिचान र महत्त्व थप विस्तार गरेको वडाध्यक्षको भनाइ छ।
वडाध्यक्ष माङ्गपाहाङ्गका अनुसार पाँचधारे प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र पर्यटनका दृष्टिले सम्भावना बोकेको क्षेत्र हो। यहाँ बौद्ध स्तुपा निर्माणसँगै अन्य पर्यटकीय पूर्वाधार विकासमा पनि स्थानीय सरकारले ध्यान दिएको उनले बताए।
भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित पाँचधारेमा स्तुपा निर्माण भएपछि घुम्न आउने पर्यटकको संख्या बढेको स्थानीयवासी विनोदकुमार राईले बताए। उनका अनुसार यस क्षेत्रमा प्राकृतिक आकर्षणसँगै धार्मिक तथा पर्यटकीय महत्त्व बोकेका अन्य स्थलसमेत रहेकाले पूर्वाधार विकासका कामले स्थानीयमा उत्साह थपेको छ।
राईले स्थानीय सरकारको पहलमा पर्यटकलाई लक्षित गरी भइरहेको विकास निर्माणले पाँचधारेको सम्भावना उजागर गर्न सहयोग पुगेको बताए।
स्थानीयवासीका अनुसार पाँचधारेमा आवश्यक भौतिक पूर्वाधार विस्तारसँगै प्रभावकारी प्रचारप्रसार गर्न सके यस क्षेत्रलाई भोजपुरको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। त्यसका लागि सडक पहुँच, पर्यटकमैत्री संरचना र पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनीहरूको अपेक्षा छ।
