ललितपुर । गत भदौ १० गते रसुवा, नुवाकोट र धादिङसहित भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको विनाशकारी बाढी, त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीका प्रयास एवं विपद्पछिको राहत र पुनर्निर्माणका अनुभव समेटिएको पुस्तक ‘द सनसाइन फ्लड’ सार्वजनिक भएको छ ।
तरङ्ग नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापन, इन्जिनियरिङ, अनुसन्धान तथा विकास क्षेत्रका विज्ञ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, लेखक र सम्पादक सहभागी थिए ।
डा. ईश्वर थापा र इन्जिनियर राजन थापाद्वारा लिखित पुस्तकमा सात जना सहसम्पादकसहित इन्जिनियर, अनुसन्धानकर्ता, प्राविधिक तथा विभिन्न क्षेत्रका विज्ञले योगदान दिएका छन् । पुस्तकमा बाढीको कारण र प्रभाव, मानवीय क्षति, उद्धार तथा खोजीका क्रममा भोगिएका अनुभव, प्रभावित समुदायको अवस्था र आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति कम गर्ने उपाय समेटिएका छन् ।
‘द सनसाइन फ्लड’ अर्थात् ‘आकाशमा बादल नहुँदै आएको बाढी’ नाम दिइएको पुस्तकले गत भदौ १० गते (अगस्ट २६) हिमाली क्षेत्रमा हिउँ र चट्टान खस्दा ल्हेन्दे नदी हुँदै भोटेकोशी र त्रिशूलीमा आएको बाढीको घटनाक्रमलाई प्रस्तुत गरेको छ ।
सामान्यतया बाढी आउनुअघि देखिने वर्षा, आकाशमा बादल वा नदीको सतह बढ्ने सङ्केतबिना आएको उक्त बाढीले नदी किनारका बस्ती, पूर्वाधार र स्थानीय जनजीवनमा ठूलो क्षति पुर्याएको थियो ।
‘द डे द माउन्टेन फेल विदाउट अ क्लाउड इन द स्काई’ अर्थात् ‘आकाशमा बादल नभएको बेला हिमाल अचानक ढलेको दिन’ उपशीर्षक रहेको पुस्तकमा हिमपहिरो र चट्टान खस्दा बाढी कसरी उत्पन्न भयो भन्ने विषयलाई प्रत्यक्षदर्शीका अनुभव, प्रभावितका भनाइ, अभिलेख र वैज्ञानिक अध्ययनका आधारमा व्याख्या गरिएको छ ।
पुस्तकमा उल्लेख भएअनुसार हिउँ र चट्टान खसेर ल्हेन्दे उपत्यकामा पुगेपछि केही मिनेटमै पानी, हिलो र ठूला ढुङ्गासहितको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदी क्षेत्रमा फैलिएको थियो । वर्षा तथा पूर्वचेतावनीबिनै आएको बाढीले बस्ती, विद्यालय, पुललगायतका संरचनामा क्षति पुर्याएको थियो ।
‘न्यारेटिभ नन–फिक्सन’ अर्थात् कथात्मक गैरआख्यान विधामा तयार पारिएको पुस्तकमा उद्धारमा खटिएका व्यक्ति, खोजी तथा सहयोगमा जुटेका समुदाय र प्रभावित परिवारका भोगाइ समेटिएका छन् । विपद्का बेला देखिएका चुनौती र भविष्यमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक सुधारबारे पनि पुस्तकमा विश्लेषण गरिएको लेखक डा. ईश्वर थापाले बताए ।
उनका अनुसार पुस्तकमा बाढी प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना र सामुदायिक सहयोगका लागि नेपालले सञ्चालन गरेका गतिविधिको विवरणसमेत समावेश छ । पीस विन्ड्स जापान र मर्सी मलेसियाको सहयोगमा संस्थाले प्राविधिक टोली परिचालन गरी क्षतिको मूल्याङ्कन, प्रभावित परिवारको आवश्यकता पहिचान तथा राहत वितरण गरेको थियो ।
पुस्तकमा दिइएको विवरणअनुसार विभिन्न कार्यक्रममार्फत एक हजार ४४८ परिवारलाई राहत तथा सहयोग उपलब्ध गराइएको थियो । त्यसैगरी, ३०६ शिक्षक तथा विद्यार्थी, दुई स्वास्थ्य संस्था र एउटा वडा कार्यालयलाई पनि सहयोग गरिएको थियो ।
राहत कार्यक्रमअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५ का ५०१ परिवारलाई जाडोमा प्रयोग हुने विद्युतीय हिटर, इलेक्ट्रिक केतली र थर्मस वितरण गरिएको थियो । नुवाकोटको विदुर नगरपालिका–१ का १९५, वडा नं. ७ का ५० र वडा नं. १० का २५२ परिवारलाई घरायसी काम तथा पुनर्निर्माणका लागि आवश्यक औजार उपलब्ध गराइएको पुस्तकमा उल्लेख छ ।
यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ का ३५० परिवारलाई इन्डक्सन चुल्होसहित भान्साका सामग्री तथा नुवाकोटको विदुर नगरपालिका–१० का १०० परिवारलाई ग्यास सिलिन्डरसहित भान्साका सामग्री वितरण गरिएको थियो ।
प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालनलाई निरन्तरता दिन विदुर नगरपालिका–५ स्थित आयुर्वेदिक अस्पताल र वडा नं. १० को सहरी स्वास्थ्य केन्द्रलाई औषधि तथा स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । त्यस्तै, विदुर नगरपालिका–१० को वडा कार्यालयमा सौर्य ऊर्जा र इन्भर्टर प्रणाली जडान गरी वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको थियो ।
विदुर नगरपालिका–२, बट्टारस्थित भीमसेन माध्यमिक विद्यालयका ३०६ शिक्षक तथा विद्यार्थीलाई उपलब्ध गराइएको सहयोगको विवरण पनि पुस्तकमा समेटिएको छ ।
पुस्तकले राहत वितरणलाई सामग्री हस्तान्तरणमा मात्र सीमित नराखी प्रभावित परिवारको आवश्यकता पहिचान, स्थलगत अध्ययन, स्थानीय तहसँगको समन्वय, सहयोग सामग्रीको अभिलेखीकरण, वितरणमा पारदर्शिता र समुदायको पुनःस्थापनालाई समेत प्राथमिकता दिएको छ ।
विपद्पछिको पुनर्निर्माणसँगै आगामी दिनमा हुन सक्ने क्षति रोकथामका उपायलाई पनि पुस्तकले महत्त्व दिएको छ । नदीले बगाएर ल्याएको गेग्रान र ढुङ्गामाटोको पुनःप्रयोग, नदी किनारका भवनको सुरक्षा, भोटेकोशी–त्रिशूली करिडोरमा पूर्वचेतावनी प्रणाली विकास तथा रसुवाको खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्ने विषयलाई प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा केही भवन सुरक्षित रहनुका कारण, नदीको बहाव र गेग्रान व्यवस्थापन तथा जोखिमयुक्त स्थानमा पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि पुस्तकमा चर्चा गरिएको छ । लेखकहरूले स्थलगत अध्ययन, प्रत्यक्ष अनुभव र घटनाक्रमको सङ्कलनका आधारमा पुस्तक तयार पारेका हुन् ।
वरिष्ठ भूगर्भविद् इन्जिनियर सन्मुखेश चन्द्र अमात्यले पुस्तकले विपद्को घटनासँगै प्रभावित समुदायको सहनशीलता र पुनःस्थापनाका प्रयासलाई अभिलेखीकरण गरेको बताए । उनका अनुसार पुस्तकले बाढीबाट भएको क्षतिको विवरण मात्र प्रस्तुत नगरी स्थानीय समुदाय, स्वयंसेवक, प्राविधिक जनशक्ति, स्थानीय सरकार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगी संस्थाबीचको सहकार्यले पुनःस्थापनामा पुर्याउन सक्ने योगदानलाई समेत उजागर गरेको छ ।
रसुवा र त्रिशूली उपत्यकाका बासिन्दालाई समर्पित पुस्तकले प्राकृतिक विपद्को इतिहास अभिलेख गर्नुका साथै जोखिम न्यूनीकरण, पूर्वतयारी र मानवीय सहायताका क्षेत्रमा काम गर्ने निकाय तथा सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको उनले बताए ।
कार्यक्रममा तरङ्ग नेपालका कार्यकारी निर्देशक अमितप्रसाद तिमल्सेनाले ‘पर्दापछाडिका कुरा’ शीर्षकमा प्रस्तुति दिँदै विपद्पछिको स्थलगत अध्ययन, मानवीय सहायता र प्रभावित समुदायसँगको अन्तरक्रियाले पुस्तक तयार पार्न महत्त्वपूर्ण भूमिका खेलेको अनुभव सुनाए ।
उनका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ तरङ्ग नेपालले प्रभावित क्षेत्रका स्थानीय सम्पर्क व्यक्ति, जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा अन्य सरोकारवालासँग समन्वय थालेको थियो । उद्धार र खोजीमा प्रत्यक्ष रूपमा संलग्न हुन कठिन परिस्थिति देखिएपछि संस्थाले राहत तथा पुनर्लाभका गतिविधिमार्फत प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको थियो ।
इन्जिनियरिङ, अनुसन्धान, सामाजिक सेवा र स्वयंसेवाका क्षेत्रमा कार्यरत जनशक्तिलाई एकीकृत गर्दै संस्थाले प्राविधिक ज्ञान, मानवीय सहायता र ज्ञान विकासका माध्यमबाट जोखिममा रहेका समुदायलाई सहयोग गर्दै आएको छ ।
छ भाग र ३१ अध्यायमा विभाजित पुस्तकमा बाढी आउनुअघिको भोटेकोशी नदी करिडोरको अवस्था, विपद्को दिन भएका घटनाक्रम, उद्धार तथा जीवनरक्षाका अनुभव, मानवीय क्षति र शोक, आर्थिक तथा वातावरणीय प्रभाव र भविष्यका लागि सिक्नुपर्ने पाठ समावेश छन् ।
त्यसैगरी, हिमाली क्षेत्रमा विपद्को जोखिम मूल्याङ्कन, पूर्वसूचना प्रणालीको सुदृढीकरण, बाढीले थुपारेको गेग्रानलाई पुनर्निर्माण सामग्रीका रूपमा उपयोग गर्ने सम्भावना, जलविद्युत् आयोजनाको सुरक्षा र जलवायुजन्य जोखिमले रसुवाको खाद्य सुरक्षामा पार्न सक्ने प्रभावबारे अनुसन्धान तथा नीतिगत दृष्टिकोणबाट विश्लेषण गरिएको छ ।
प्रभावित समुदायका वास्तविक अनुभवसँगै वैज्ञानिक अध्ययन र दस्तावेजीकृत तथ्यलाई एउटै पुस्तकमा समेटिनु यसको विशेषता हो । तथ्याङ्क तथा घटनासम्बन्धी विवरणका लागि आधिकारिक प्रतिवेदन, प्रकाशित अनुसन्धान र पत्रकारितामा आधारित सामग्री प्रयोग गरिएको लेखकहरूले बताएका छन् । पुस्तकमा प्रमाणित तथ्य, व्यक्तिगत अनुभव, विश्लेषण र अझै स्पष्ट हुन नसकेका विषयलाई छुट्टाछुट्टै रूपमा प्रस्तुत गरिएको छ ।
पुस्तकले माथिल्लो भोटेकोशी क्षेत्रमा पूर्वसूचना प्रणाली पुनःस्थापना तथा सुदृढीकरण, सीमापार सूचना आदानप्रदान, पुनर्निर्माणअघि जोखिम मूल्याङ्कन, जलविद्युत् पूर्वाधारको सुरक्षा र बेपत्ता व्यक्तिको पहिचान प्रक्रियालाई तीव्रता दिनुपर्ने सुझावसमेत दिएको छ ।
