२२ कात्तिक, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्प नजिक ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय स्पर्स अर्याल र वडा नम्बर २ का २८ वर्षीय सास्वत पोखरेल रहेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार कोशी लोकमार्गमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक चालक रामधुनी नगरपालिका–५, सुनसरीका ३९ वर्षीय काशिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
