काठमाडौं । तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका २८ लाख २७ हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका फूल सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी बलले झापा र धनुषाका विभिन्न सीमावर्ती क्षेत्रबाट सयपत्री, कमल र रजनिगन्धाका फूल नियन्त्रणमा लिएको हो। बरामद फूलहरू सम्बन्धित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा खाल्डो खनेर पुरिएको प्रहरीले जनाएको छ।
झापाको भद्रपुर नगरपालिका–८ स्थित देवीबस्तीबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाको टोलीले विशेष सूचनाका आधारमा ठूलो परिमाणमा भारतीय फूल बरामद गरेको थियो।
सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको नौ सदस्यीय मोबाइल गस्ती टोलीले २२ लाख ६८ हजार ४०० रुपैयाँ बराबरका ११ हजार ३४२ थान सयपत्री माला तथा दुई लाख ९५ हजार रुपैयाँ मूल्यका १२ झोला कमलका फूल नियन्त्रणमा लिएको थियो। झापाबाट मात्रै २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका फूल बरामद भएका थिए। ती फूल जनप्रतिनिधिको रोहवरमा गण परिसरभित्र खाल्डो खनी नष्ट गरिएको हो।
यस्तै, धनुषाका विभिन्न स्थानबाट पनि भारतबाट भन्सार छली ल्याइएका फूल बरामद भएका छन्। बिओपी देवडिहाको गस्ती टोलीलाई देखेपछि दुईवटा मोटरसाइकलमा फूल ल्याउँदै गरेका तस्करहरूले मोटरसाइकल र फूल छाडेर फरार भएका थिए। उक्त स्थानबाट ९१ हजार रुपैयाँ बराबरको १३० केजी सयपत्री र ३३ हजार रुपैयाँ बराबरको ३० केजी रजनिगन्धा बरामद गरिएको थियो। एक लाख २४ हजार रुपैयाँ मूल्यका ती फूल स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र पत्रकारको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, कात्तिक २२ गते बिहान बिओपी फुलगामाको टोलीलाई देखेपछि तस्करहरूले टाउकोमा बोकेर ल्याउँदै गरेका करिब एक लाख ४० हजार रुपैयाँ मूल्यका २०० केजी सयपत्री फूल सीमा क्षेत्रमै छाडेर भागेका थिए।
उक्त फूल पनि स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, जटही भन्सार कार्यालयका प्रतिनिधि र स्थानीय बासिन्दाको रोहवरमा खाल्डो खनी नष्ट गरिएको थियो।
नेपाली किसानले उत्पादन गरेका फूलको बजार प्रवर्द्धन गर्नुका साथै अवैध आयात नियन्त्रण गर्ने उद्देश्यले सीमावर्ती क्षेत्रमा निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।
