६६ वर्षीय आइजनकोट इजरायली राजनीतिमा तुलनात्मक रूपमा नयाँ अनुहार मानिन्छन्। उनले सन् २०२२ मा औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसबेला उनी नेसनल युनिटी पार्टीबाट संसद् सदस्य बनेका थिए। पछि वैचारिक मतभेदका कारण उक्त पार्टी छाडेर उनले मध्यमार्गी राजनीतिक धार समाते।
गत वर्ष विपक्षी दलका प्रमुख नेताहरूसँगको दूरी बढेपछि उनले ‘यासर’ नामको नयाँ मध्यमार्गी पार्टी स्थापना गरे। हिब्रु भाषामा यासरको अर्थ सीधा वा इमानदार हुन्छ। त्यसपछि उनी नेतन्याहूका प्रमुख राजनीतिक प्रतिस्पर्धीका रूपमा स्थापित भए।
नेतन्याहूको राजनीतिक वर्चस्वलाई चुनौती
यस निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहू नेतृत्वको दक्षिणपन्थी लिकुड पार्टी र उसका अतिदक्षिणपन्थी तथा अतिरूढिवादी यहुदी सहयोगीहरूले १२० सदस्यीय संसद्मा ५३ सिट प्राप्त गरेका छन्।
त्यसैगरी, आइजनकोटको मध्यमार्गी यासर पार्टीसहित गठबन्धनमा रहेका अन्य तीन यहुदी विपक्षी दलले ४८ सिट जितेका छन्।
पछिल्ला वर्षमा नेतन्याहू भ्रष्टाचारको आरोपमा विवादित बन्दै आएका छन्। उनले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन्। सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण रोक्न नसकेको भन्दै उनको सरकारको चर्को आलोचना भएको थियो। न्यायपालिकाको संरचनामा व्यापक परिवर्तन गर्ने उनको योजनाले पनि इजरायलमा लामो समय विरोध प्रदर्शन निम्त्याएको थियो।
नेतन्याहूलाई राजनीतिक रूपमा चुनौती दिने आइजनकोटको निर्णयमा व्यक्तिगत पीडाको पनि महत्त्वपूर्ण भूमिका रहेको बताइन्छ।
छोराको मृत्युले दिएको राजनीतिक प्रेरणा
आइजनकोटका पाँच सन्तानमध्ये कान्छा छोरा मास्टर सार्जेन्ट गाल आइजनकोटको सन् २०२३ डिसेम्बरमा उत्तरी गाजामा भएको विस्फोटमा परी मृत्यु भएको थियो। उनी अक्टोबर ७ को हमलापछि बन्धक बनाइएका दुई इजरायली नागरिकका अवशेष खोज्ने सैन्य अभियानमा सहभागी थिए।
छोराको मृत्यु भएको लामो समय बितिसक्दा पनि आइजनकोटले उनका व्यक्तिगत सामान राखिएका दुईवटा बाकस खोलेका छैनन्। ती बाकस तेल अभिभको उत्तरमा समुद्री किनारमा रहेको हर्जलिया सहरस्थित उनको घरमा सुरक्षित राखिएका छन्।
उनले अप्रिलमा इजरायलको सरकारी रेडियो कान रेसेत बेटसँगको कुराकानीमा ती बाकस खोल्ने विषय आफूले निरन्तर टारिरहेको बताएका थिए।
गाजामा सञ्चालन भएको सैन्य अभियानका क्रममा उनका छोरासँगै दुई भतिजाको पनि ज्यान गएको थियो। परिवारमा परेको यो ठूलो क्षति र नेतन्याहू नेतृत्वको सरकारले हमासको आक्रमण रोक्न नसकेको निष्कर्षले उनको राजनीतिक यात्रालाई थप प्रभावित गरेको देखिन्छ।
द टाइम्स अफ इजरायलसँगको कुराकानीमा उनले बितेको समय फर्काउन नसकिने उल्लेख गर्दै देशले चुकाएको ठूलो मूल्यप्रति आफू जिम्मेवार बन्न चाहेको बताएका थिए।
नेतन्याहूलाई जवाफदेही बनाउने मुख्य एजेन्डा
आइजनकोटको राजनीतिक प्राथमिकतामध्ये नेतन्याहू र उनको मन्त्रिपरिषद्लाई अक्टोबर ७ को आक्रमणबारे जवाफदेही बनाउनु प्रमुख विषय हो।
हमासको आक्रमणपछि राष्ट्रिय एकताको सन्देश दिन उनी विपक्षी नेताहरूसँगै नेतन्याहू नेतृत्वको युद्ध मन्त्रिपरिषद्मा सहभागी भएका थिए। तर, सन् २०२४ जुनमा उनले उक्त मन्त्रिपरिषद्बाट राजीनामा दिए।
हमासको नियन्त्रणमा रहेका बन्धकलाई मुक्त गर्न नेतन्याहूले पर्याप्त र समयमै पहल नगरेको उनको आरोप थियो। उनले महिला तथा बालबालिकालाई अपहरणबाट मुक्त गराउन आवश्यक कदम नचालिएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए।
नेतन्याहूले भने आइजनकोटको आरोप अस्वीकार गर्दै आएका छन्। उनको दाबीमा युद्ध मन्त्रिपरिषद्मा रहँदा आइजनकोटले गाजामा सञ्चालन गर्नुपर्ने केही महत्त्वपूर्ण सैन्य कारबाहीको विरोध गरेका थिए।
नेतन्याहूका अनुसार आइजनकोटको प्रस्तावअनुसार बन्धकसँग सम्झौता गरेर गाजाबाट इजरायली सेना फिर्ता भएको भए हमास अझै शक्तिशाली अवस्थामा रहने थियो।
आइजनकोटले प्रधानमन्त्रीको दाबीलाई अस्वीकार गर्दै युद्ध मन्त्रिपरिषद्का बैठक र त्यहाँ भएका मतदानको विवरण सार्वजनिक गर्न माग गरेका छन्।
निर्वाचन अभियानका क्रममा उनले आफू निर्वाचित भए १८ महिनाभित्र गाजामा हमासको शासन अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।
आइजनकोटका राजनीतिक प्राथमिकता
इजरायलका पत्रकार तथा शिक्षाविद् नदाव इयालका अनुसार छोराको मृत्युपछि आइजनकोटले आफ्नो राजनीतिक जीवनलाई एउटा निश्चित उद्देश्यसँग जोडेको देखिन्छ।
उनको लक्ष्य यासर पार्टीलाई संसद्मा बलियो बनाउनु मात्र नभई नेतन्याहूलाई सत्ताबाट हटाउन सक्ने विपक्षी गठबन्धन निर्माण गर्नु पनि हो।
गाजाको भविष्यका विषयमा भने आइजनकोट र नेतन्याहूबीच केही समान धारणा छन्। दुवै नेताले गाजामा हमासको शासन रहन नहुने अडान राख्दै आएका छन्।
तर, आइजनकोटले प्यालेस्टाइन समस्या समाधानका लागि अघि सारिएको दुई राष्ट्र अवधारणालाई समर्थन गरेका छैनन्। उक्त अवधारणाले इजरायलसँगै स्वतन्त्र प्यालेस्टिनी राष्ट्रको स्थापनालाई समेट्छ।
इजरायली सञ्चारमाध्यमका अनुसार गत अगस्टको अन्त्यमा उनले दुई राष्ट्र समाधान सम्भव छ भन्ने विश्वास गर्नेहरू भ्रममा रहेको टिप्पणी गरेका थिए।
यद्यपि, प्यालेस्टिनी प्राधिकरणसँग इजरायलको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने उनको धारणा छ।
अक्टोबरमा द टाइम्स अफ इजरायलसँग कुरा गर्दै उनले पश्चिम किनारमा बसोबास गर्ने करिब २८ लाख प्यालेस्टिनीको प्रशासनिक जिम्मेवारी प्यालेस्टिनी प्राधिकरणलाई दिनुपर्ने बताएका थिए। उनीहरूलाई इजरायलले प्रत्यक्ष शासन गर्न नहुने उनको भनाइ थियो।
यहुदी बस्ती विस्तारबारे मिश्रित धारणा
आइजनकोट इजरायलका ठूला यहुदी बस्ती विस्तारको पक्षमा छन्। तर, त्यस्तो विस्तार इजरायली कानुन र राष्ट्रिय हितअनुसार हुनुपर्ने उनको सर्त छ।
पश्चिम किनारका केही क्षेत्रमा बस्ती विस्तार गर्ने विवादास्पद योजनाप्रति भने उनले असहमति जनाएका छन्। विशेषगरी जेरुशलमको पूर्वमा पर्ने ई–१ क्षेत्रमा बस्ती विस्तार गर्ने योजनाको उनले विरोध गरेका छन्।
यस विषयमा अन्तर्राष्ट्रिय समुदायबाट आउन सक्ने नकारात्मक प्रतिक्रियालाई पनि उनले महत्त्व दिएका छन्।
त्यस्तै, इजरायलले ‘जुडिया र सामरिया’ भन्ने पश्चिम किनार क्षेत्रमा सक्रिय यहुदी अतिवादीहरूलाई हटाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
अक्टोबर ७ को आक्रमणबारे छानबिन गराउने योजना
आइजनकोटले निर्वाचन अभियानका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणबारे स्वतन्त्र छानबिन गराउने प्रतिबद्धता जनाएका थिए। त्यसबाट सरकार तथा सुरक्षा निकायबाट भएका कमजोरी र त्रुटि पहिचान गर्ने उनको योजना छ।
इजरायली सञ्चारमाध्यममा संयुक्त अरब इमिरेट्स र इजिप्टका अधिकारीहरूले गाजाबाट सम्भावित आक्रमण हुन सक्ने विषयमा नेतन्याहूलाई पहिले नै सचेत गराएको दाबीसहितका समाचार प्रकाशित भएका थिए।
नेतन्याहूले भने यस्ता आरोप अस्वीकार गर्दै आएका छन्। यससम्बन्धी समाचार प्रकाशित गर्ने इजरायली पत्रिकाविरुद्ध उनले मुद्दासमेत दायर गरेका थिए।
सरकारी छानबिन सर्वोच्च अदालतको नेतृत्वमा हुनुपर्ने प्रस्तावप्रति पनि नेतन्याहू असहमत छन्। न्यायपालिकाले आफूविरुद्ध पक्षपात गर्न सक्ने उनको तर्क छ।
आइजनकोटका अनुसार निर्वाचनले राजनीतिक नेतृत्वमा जिम्मेवारी स्वीकार गर्ने र त्यसबाट पन्छिने प्रवृत्तिबीचको भिन्नता देखाउनेछ।
दक्ष जनशक्ति पलायन रोक्ने प्रतिबद्धता
आइजनकोटले सार्वजनिक गरेको १० बुँदे चुनावी कार्यक्रममा इजरायलबाट बाहिरिने दक्ष जनशक्तिलाई रोक्ने र नयाँ आप्रवासीलाई देशमा आकर्षित गर्ने आपत्कालीन योजना पनि समावेश छ।
त्यसैगरी, अतिरूढिवादी यहुदी समुदाय र अरब इजरायली नागरिकलाई सैनिक सेवाबाट दिइँदै आएको छुट अन्त्य गर्ने उनको योजना छ।
द टाइम्स अफ इजरायलसँग उनले सबै नागरिकलाई समान रूपमा लागू हुने सेवा कानुन ल्याउने बताएका थिए। उक्त व्यवस्थाअन्तर्गत सैनिक, राष्ट्रिय वा नागरिक सेवामध्ये कुनै एकमा सहभागी हुनुपर्ने उनको प्रस्ताव छ। अरब नागरिकका लागि पनि राष्ट्रिय सेवा समावेश गरिने उनले उल्लेख गरेका थिए।
यसअघि पनि इजरायलमा अनिवार्य सैनिक सेवाको दायरा विस्तार गर्ने प्रयास भएका थिए। नेतन्याहू सरकारले गरेको यस्तै प्रयासको अतिरूढिवादी यहुदी समुदायले विरोध गर्दै प्रदर्शन गरेको थियो।
सामान्य परिवारबाट आएका पूर्वसैनिक प्रमुख
गादी आइजनकोटको जन्म इजरायलको तिबेरियसमा भएको थियो भने बाल्यकाल इलातमा बित्यो। उनका आमाबुबा सन् १९५० को दशकमा मोरक्कोबाट इजरायल आएका आप्रवासी थिए।
उनी सामान्य आर्थिक अवस्था भएको परिवारमा हुर्किएका हुन्। मध्यपूर्व र उत्तर अफ्रिकाबाट इजरायल पुगेका यहुदी समुदायलाई ‘मिजराही’ भनिन्छ।
इजरायलको इतिहासमा अहिलेसम्म मिजराही समुदायका कुनै व्यक्ति प्रधानमन्त्री बनेका छैनन्। यद्यपि, यस समुदायबाट राजनीतिक नेतृत्वमा पुग्ने प्रयास विगतमा पनि भएका छन्।
द न्युयोर्करका सम्पादक डेभिड रेमनिकले निर्वाचन अभियानका क्रममा आइजनकोटसँग समय बिताएका थिए। उनका अनुसार आइजनकोटले इजरायली समाजमा लामो समयदेखि राजनीतिक तथा सामाजिक रूपमा पछाडि पारिएको महसुस गर्ने मिजराही समुदायको प्रतिनिधित्व गर्छन्।
यसले नेतन्याहूको परम्परागत राजनीतिक पहिचानलाई चुनौती दिएको विश्लेषण गरिएको छ।
नेतन्याहू पूर्वी युरोपबाट इजरायल आएका यहुदी आप्रवासीका सन्तान हुन्। उनको बाल्यकाल जेरुशलमको सम्पन्न क्षेत्रमा बितेको थियो। त्यसैले उनी सीमान्तकृत समुदायका प्रतिनिधि हुन् भन्ने दाबीमाथि प्रश्न उठ्ने गरेको छ।
इजरायली सञ्चारमाध्यमका अनुसार विगतमा लिकुड पार्टीलाई समर्थन गर्दै आएको मिजराही समुदायका केही व्यक्तिले आइजनकोटका लागि मोरक्कोको अरबी भाषाको शब्द ‘दियालिना’ प्रयोग गर्ने गरेका छन्। यसको अर्थ ‘हामीमध्ये एक’ हुन्छ।
आइजनकोटले च्यानल १३ सँगको कुराकानीमा आफ्ना मोरक्कन अभिभावक र पुर्ख्यौली पहिचानप्रति गर्व रहेको उल्लेख गर्दै सबैभन्दा पहिले इजरायली पहिचानप्रति गर्व गर्नुपर्ने बताएका थिए।
इजरायली सेनामा चार दशकको अनुभव
आइजनकोट १८ वर्षको उमेरमा इजरायली सेनामा भर्ती भएका थिए। उनले सेनामा करिब ४० वर्ष सेवा गरे। विभिन्न जिम्मेवारी सम्हाल्दै उनी सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाका प्रमुख बने।
सन् २००० को दशकमा भएको दोस्रो इन्तिफादाका क्रममा उनी पश्चिम किनारमा तैनाथ इजरायली सेनाको जिम्मेवारीमा थिए। दोस्रो इन्तिफादा प्यालेस्टिनी विद्रोह थियो, जुन चार वर्षभन्दा बढी समय चलेको थियो। उक्त द्वन्द्वमा करिब एक हजार इजरायली र तीन हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको थियो।
पछि उनको नाम ‘दहिया सिद्धान्त’सँग जोडियो। उक्त सिद्धान्तले इजरायलमाथि आक्रमण भइरहेको ठानिएका क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गर्दै अत्यधिक सैन्य शक्ति प्रयोग गर्नुपर्ने मान्यता राख्छ।
नेतन्याहूको चर्को आलोचना गर्दै आएका आइजनकोटले अक्टोबर ७ को हमास आक्रमणपछि इजरायलले गाजामा सञ्चालन गरेको सैन्य अभियानको भने विरोध गरेका छैनन्।
हमास नेतृत्वको उक्त आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जना बन्धक बनाइएका थिए। त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो।
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य अभियानमा ७४ हजार २०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्। संयुक्त राष्ट्रसंघले उक्त तथ्यांकलाई विश्वसनीय मानेको छ।
आइजनकोटका अनुसार इजरायलले आत्मरक्षाका लागि सैन्य कारबाही गर्नुपरेको थियो। त्यसका लागि द्वन्द्वको सुरुवात र त्यसको कारणलाई पनि इमानदारीपूर्वक मूल्यांकन गर्नुपर्ने उनको धारणा छ।
आइजनकोटप्रति आलोचकहरूको धारणा
पत्रकार तथा प्रसारक मेहदी हसनले बेलायती अखबार द गार्जियनमा लेख्दै आइजनकोट नेतन्याहूभन्दा फरक भए पनि पश्चिम किनार र गाजामा विस्तार तथा विनाशसँग सम्बन्धित नीतिलाई निरन्तरता दिन सक्ने टिप्पणी गरेका छन्।
द इकोनोमिस्टका इजरायल संवाददाता तथा नेतन्याहूका जीवनीकार अंशेल फेफरका अनुसार आइजनकोट शान्तिवादी नेता होइनन्। तर, उनी गम्भीर र जिम्मेवार नेताका रूपमा चिनिन्छन्।
फेफरले बीबीसीसँगको कुराकानीमा आइजनकोटले निर्वाचन अभियानका क्रममा अव्यावहारिक वा ठूला आश्वासन नबाँडेको बताएका थिए। प्रभावशाली राजनीतिक परिवारबाट नआएकाले उनको सार्वजनिक छवि कमजोर बनाउन पनि कठिन रहेको उनको विश्लेषण छ।
उनका अनुसार केही महिनाअघिसम्म पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटलाई नेतन्याहूको प्रमुख प्रतिस्पर्धी मानिएको थियो। तर, पछिल्लो समय आइजनकोटले मतदाताको भावनालाई समेट्न सकेका छन्।
आइजनकोटलाई नेतन्याहूको विपरीत स्वभाव भएका नेताका रूपमा पनि चित्रण गरिन्छ। उनी सार्वजनिक चर्चामा रहन खोज्दैनन् र प्रभावशाली वक्ताका रूपमा समेत परिचित छैनन्।
पत्रकार नदाव इयालका अनुसार आइजनकोटलाई राजनीतिज्ञको भूमिकामा रहन खासै रुचि नहुन पनि सक्छ।
अन्तर्राष्ट्रिय सम्बन्ध सुधारको सम्भावना
आइजनकोटको नेतृत्वमा नयाँ सरकार बनेमा इजरायल र अन्तर्राष्ट्रिय समुदायबीच बिग्रिएको सम्बन्धमा सुधार आउन सक्ने अपेक्षा गरिएको छ।
बेलायतस्थित च्याथम हाउसका अन्तर्राष्ट्रिय सम्बन्धविज्ञ तथा इजरायली प्राध्यापक योसी मेकेलबर्गले बीबीसीसँग यस्तो सम्भावना रहेको बताएका छन्। तर, नेतृत्व परिवर्तन हुँदैमा सम्बन्धमा तत्काल सुधार आउने निश्चित नभएको उनको भनाइ छ।
उनका अनुसार नेतन्याहूको स्थानमा अर्को नेता आउँदैमा इजरायलले अन्तर्राष्ट्रिय समुदायप्रति फरक व्यवहार गर्छ भन्ने ग्यारेन्टी हुँदैन।
प्राध्यापक मेकेलबर्गले विपक्षी दलहरूले अहिलेसम्म नेतन्याहूको नीतिभन्दा स्पष्ट रूपमा फरक विकल्प प्रस्तुत गर्न नसकेको टिप्पणी गरेका छन्।
यसरी सैन्य अनुभव, व्यक्तिगत क्षति, राजनीतिक जवाफदेहिता र राष्ट्रिय सुरक्षाका मुद्दालाई आफ्नो अभियानको केन्द्रमा राखेका आइजनकोट अहिले नेतन्याहूको लामो राजनीतिक वर्चस्वलाई चुनौती दिने प्रमुख पात्रका रूपमा देखिएका छन्।
