धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले आफ्नो गोठमा पाँचवटा भोटे कुकुर पालेका छन्। २० वर्षसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा रोजगारी गरेर फर्किएका ५० वर्षीय छन्त्यालले ६०० भेडाबाख्राको सुरक्षाका लागि कुकुर पालेका हुन्।
उनका अनुसार घना जंगल, अग्ला पहाड र दुर्गम क्षेत्रमा महिनौँसम्म गोठमा बसेर पशुपालन गर्ने किसानका लागि कुकुर घरपालुवा जनावरमा मात्र सीमित छैनन्। उनीहरू पशुहरूको रेखदेख, गोठको सुरक्षा र जङ्गली जनावरको सम्भावित आक्रमणबाट जोगाउन महत्वपूर्ण सहयोगी बनेका छन्।
म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका घुम्ती गोठमा कुकुर पाल्ने चलन व्यापक छ। धवलागिरि गाउँपालिका–४ सिम्कोशका भेडापालक किसान आस्मान पुर्जाका अनुसार दुर्गम पहाडी तथा हिमाली क्षेत्रमा पशुधनको सुरक्षा गर्न कुकुर पाल्नु किसानको बाध्यता र आवश्यकता दुवै हो।
उनका अनुसार गोठालाले अग्लो शरीर, बलियो बनावट र ३० किलोग्रामभन्दा बढी तौल भएका कम्तीमा दुईवटा भोटे कुकुर पाल्ने गर्छन्। यस्ता कुकुरले जङ्गली जनावरको गतिविधि आवाज र गन्धबाट पहिचान गरी गोठालालाई खतराबारे सचेत गराउँछन्। भोटे कुकुरका छाउरा प्रतिगोटा १० हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने गरेको पुर्जाले बताए।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका ८१ वर्षीय लालवीर तिलिजा सात दशकदेखि भेडापालन गर्दै आएका छन्। उनको अनुभवमा कुकुरको सहयोगबिना सयौँ पशुहरूको हेरचाह गर्न गोठालालाई निकै कठिन हुन्छ। जङ्गली जनावरको चाल छिट्टै थाहा पाउने र गन्धबाट खतरा पहिचान गर्ने क्षमताका कारण कुकुरले गोठालाको काम सहज र सुरक्षित बनाएको उनले बताए।
म्याग्दीका जंगलमा चितुवा, ब्वाँसो, भालु र स्यालजस्ता जङ्गली जनावरको जोखिम रहने गर्छ। यस्ता जनावरबाट पशुधन जोगाउन कुकुरले गोठको पहरेदारी गर्छन्। विशेषगरी साँझ, राति र बिहान गोठ वरपर निगरानी गर्ने उनीहरूले अपरिचित मानिस वा जङ्गली जनावर देखेपछि भुकेर गोठालालाई खबर गर्छन्। आवश्यक पर्दा जनावरलाई लखेट्ने र प्रतिकार गर्ने भएकाले गोठालाको सुरक्षामा समेत उनीहरूको योगदान रहने गरेको छ।
पाउद्वारका किसान टेकजित तिलिजाका अनुसार कुकुरले चरन क्षेत्रमा टाढा पुगेका भेडाबाख्रा खोज्न र बथानलाई एकै ठाउँमा फर्काउन पनि सहयोग गर्छन्। हराएका पशु कहाँ पुगेका छन् भन्ने पत्ता लगाउन कुकुर निकै उपयोगी हुने उनले बताए।
त्यस्तै, मनिराम पाइजाले पनि कुकुरबिनाको गोठालो जीवन कठिन हुने बताए। पशु चराउन जाँदा बथानसँगै हिँड्ने कुकुरले भेडाबाख्रालाई जोखिमपूर्ण भीरतर्फ जानबाट रोक्ने गर्छन्। साँझ परेपछि पशुलाई गोठमा फर्काउन र जङ्गली जनावरको उपस्थितिबारे जानकारी दिन पनि उनीहरूको भूमिका महत्वपूर्ण हुन्छ। चितुवा, ब्वाँसो र स्यालजस्ता जनावरले आक्रमण गर्न खोजेमा कुकुरले प्रतिकार गर्दै भगाउने गरेको उनले बताए।
गोठमा पालिएका कुकुरलाई बिहान र बेलुका पिठोको खोले, भेडाको दूध र मासु खुवाउने गरिन्छ। चरनको व्यवस्थापनअनुसार किसानले एउटा स्थानमा १० देखि १५ दिनसम्म गोठ राख्छन्। त्यसपछि पशुका लागि नयाँ चरन खोज्दै अर्को खर्कमा सर्ने गर्छन्। गोठालासँगै लेकबेँसी गर्ने कुकुर पनि यही घुम्ती जीवनशैलीमा अभ्यस्त भएका हुन्छन्।
बर्खायाममा धवलागिरि र अन्नपूर्ण हिमालको फेदी तथा ढोरपाटन क्षेत्रका बुकीमा पुगेका पशुगोठ चिसो बढ्न थालेसँगै बेँसीतर्फ झर्न थालेका छन्। हिमाली क्षेत्रमा रहेका पोषिलो घाँसयुक्त चरन क्षेत्रलाई बुकी भनिन्छ भने पशु राख्ने स्थानलाई खर्कका रूपमा चिनिन्छ। लेकमा पोषिलो घाँस खाएर मोटाएका पशु लिएर गोठाला आवश्यक बन्दोबस्तीका सामानसहित क्रमशः तल्लो क्षेत्रमा फर्किने गर्छन्।
बेँसीका खेतबारीमा घुम्ती गोठ राख्ने र पशुबाट प्राप्त मलले जमिनको उर्वराशक्ति बढाउने परम्परा पनि म्याग्दीमा कायमै छ।
धवलागिरि गाउँपालिकाका गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ र मल्कवाङका किसानले परम्परागत घुम्ती गोठ प्रणालीमार्फत पशुपालन गर्दै आएका छन्। यसैगरी रघुगङ्गा गाउँपालिकाका कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम र ठाडाखानी तथा अन्नपूर्ण गाउँपालिकाका दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख र राम्चे क्षेत्रमा पनि यो पेसा सञ्चालनमा छ।
आधुनिक जीवनशैली र रोजगारीका नयाँ अवसरका कारण परम्परागत घुम्ती गोठ प्रणाली चुनौतीमा पर्दै गएको छ। यद्यपि, भोटे कुकुर अझै पनि गोठाला र पशुधनका विश्वासिला रक्षकका रूपमा रहँदै आएका छन्। दुर्गम जंगलदेखि कठिन उकाली–ओरालीसम्म गोठालालाई साथ दिँदै आएका यी बफादार जनावरले पुस्तौँदेखि चल्दै आएको पशुपालन परम्पराको संरक्षण र निरन्तरतामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।
