‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजित प्रदर्शनमा सहभागीहरूले नयाँ आप्रवासीको आगमन सीमित गर्न र आप्रवासनसम्बन्धी नीतिलाई थप कडा बनाउन सरकारसँग माग गरेका थिए।
वर्षाका बीच पनि उल्लेख्य सहभागिता रहेको प्रदर्शन रोयल बोटानिक गार्डेन आसपासबाट सुरु भएको थियो। प्रदर्शनकारीहरू म्याक्वेरी स्ट्रिट हुँदै हाइड पार्क पुगेर न्यु साउथ वेल्स संसद् भवनसम्म जुलुससहित पुगेका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले राष्ट्रिय हित र अस्ट्रेलियाको मौलिक पहिचानलाई प्राथमिकता दिनुपर्ने सन्देशसहितका प्लेकार्ड बोकेका थिए। जुलुसमा आप्रवासन नीतिका आलोचक तथा राष्ट्रवादी विचारधारा राख्ने विभिन्न समूह सहभागी भएका थिए।
यता, आप्रवासनविरोधी प्रदर्शनको प्रतिवाद गर्दै सिड्नी टाउन हल क्षेत्रमा आप्रवासी तथा शरणार्थी अधिकारका पक्षधरहरूले छुट्टै र्याली आयोजना गरेका थिए। उनीहरूले जातीय विभेद र आप्रवासीविरोधी गतिविधिको विरोध गर्दै अस्ट्रेलियाको बहुसांस्कृतिक समाज र विविधताको संरक्षण गर्नुपर्ने आवाज उठाएका थिए।
पछिल्लो समय अस्ट्रेलियामा जनसङ्ख्या वृद्धि, आवासको अभाव र सार्वजनिक पूर्वाधारमा बढ्दो दबाबका कारण आप्रवासन व्यवस्थापनको विषय राजनीतिक तथा सामाजिक बहसको केन्द्रमा छ।
अप्रवासी समुदायले स्वास्थ्य, शिक्षा, कृषि र निर्माणलगायतका क्षेत्रमा पुर्याएको योगदानलाई महत्त्व दिइँदै आए पनि बढ्दो जनसङ्ख्याले उपलब्ध स्रोतसाधन र पूर्वाधारमा दबाब सिर्जना गरेको भन्दै आप्रवासन नियन्त्रणको मागसमेत उठ्दै आएको छ।
यसैबीच, अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली मूलका आप्रवासी राजीव भुसालले आफूलाई अवसर र आश्रय प्रदान गर्ने देशप्रति आप्रवासीहरूले सम्मान र जिम्मेवारी देखाउनुपर्ने बताएका छन्।
उनका अनुसार आप्रवासीले आफू बसोबास गर्ने देशको समाज, संस्कृति र मूल्यमान्यतालाई आत्मसात् गर्दै सकारात्मक योगदान दिनुपर्छ।
भुसालले अवसर प्रदान गर्ने देशप्रति कृतज्ञता व्यक्त गर्नुका साथै त्यहाँको सामाजिक संरचना र पहिचानको सम्मान गर्नुपर्नेमा जोड दिए। पुस्तौँको मेहनतबाट निर्माण भएको समाजलाई कमजोर बनाउने वा अपमान गर्ने व्यवहार उचित नहुने उनको भनाइ छ।
