२३ कात्तिक, काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको चौथो दिन आज घरघरमा गाईको पूजा गरी मनाइँदैछ। यस अवसरमा गाईलाई विधिपूर्वक पूजा गर्नुका साथै मीठा परिकार खान दिएर सम्मान गर्ने परम्परा छ।
यसैक्रममा काठमाडौंको पशुपति क्षेत्रमा रहेको राम मन्दिरका बटुकहरूले पनि धार्मिक विधिअनुसार गाईपूजा गरेका छन्।
हिन्दू धर्म र संस्कृतिमा गाईलाई पवित्र तथा पूजनीय जनावरका रूपमा लिइन्छ। गाईको दूध आमाको दूधसरह पोषिलो हुने धार्मिक विश्वासका आधारमा गाईलाई गौमाताका रूपमा सम्मान गर्ने चलन रहिआएको छ।
गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले पनि गाईको विशेष महत्त्व रहेको छ। यही मान्यताअनुसार तिहारमा गाईको पूजा गरी श्रद्धा प्रकट गर्ने परम्परा छ।
