सोमबार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटीले बडादशैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बस्नेतले भक्तपुरको विकास बजेटमा आएको अवस्थाले स्थानीयवासीको मनोबल र प्रतिष्ठामा असर परेको दाबी गरे।
उनले एक लाख रुपैयाँसम्मको बजेट ल्याउन नसक्ने नेतृत्व निर्वाचनबाट निर्वाचित भएर गएको भन्दै व्यंग्य गरे। विगतमा करोडौँ रुपैयाँका विकास बजेट माग गर्न सक्ने भक्तपुर अहिले १० लाख रुपैयाँको बजेटसमेत ल्याउन कठिन अवस्थामा पुगेको उनको आरोप थियो।
बस्नेतले भक्तपुरलाई यस्तो अवस्थामा पुर्याउने राजनीतिक नेतृत्वको वास्तविकता जनतासामु उजागर गर्नुपर्ने धारणा राखे। उनले यस सन्दर्भमा ‘नक्कली स्याल’ र ‘भेडाको छाला ओढेका ब्वाँसो’ जस्ता अभिव्यक्तिसमेत प्रयोग गरे।
उनको टिप्पणी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपाका सांसद राजीव खत्रीतर्फ लक्षित थियो।
बस्नेतले नेपाली जनताले विकास र समृद्धिका लागि नेकपा एमालेलाई पुनः भरोसा गर्न थालेको दाबी गर्दै देशको विकास अभियानलाई अघि बढाउने क्षमता आफ्नो पार्टीसँग मात्रै रहेको जिकिर गरे।
उनले एमाले र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अघि सारिएको विकास तथा समृद्धिको अभियानबारे जनतामाझ पुनः चर्चा र बहस हुन थालेको पनि बताए।
उनका अनुसार जनताले समृद्धिको अभियान अघि बढाउन सक्ने राजनीतिक शक्तिका रूपमा एमालेको भूमिकालाई पुनः महसुस गर्न थालेका छन्।
