नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक भिन्तुना र्याली आयोजक समितिको आयोजनामा स्थानीय सूर्यमढी र टौमढीबाट र्याली सुरु भएको थियो। परम्परागत वेशभूषा र बाजागाजासहित सहभागीहरूले नगरका विभिन्न टोल तथा बजार परिक्रमा गरेका थिए।
नगर परिक्रमा गर्दै र्याली भक्तपुर दरबार स्क्वायर पुगेपछि सभामा परिणत भएको थियो। र्यालीमार्फत भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा, नेवारी कला र परम्परागत पहिचान प्रदर्शन गरिएको थियो।
र्यालीपछि खौमास्थित जगतसुन्दर मल्लको सालिकमा माल्यार्पण गरिएको थियो।
सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भाषा, संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए।
उनले नेपाल संवत्को नयाँ वर्षलाई पात्रो परिवर्तनका रूपमा मात्र नहेरी भाषा, इतिहास, संस्कृति र मौलिक पहिचानसँग जोडेर मनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, परम्परागत गीत, सङ्गीत तथा नृत्य प्रस्तुत गरिएको थियो।
