यसअघिका शृङ्खलाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि ठूलो प्रचारप्रसार र तामझामसहित प्रदर्शनमा ल्याइएको ‘कबड्डी–५’ बाट अपेक्षा गरिएको उत्साह दोस्रो सातासम्म निरन्तर रहन सकेन। पुरानै कथा, परिवेश र परिस्थितिलाई निरन्तरता दिइएको भन्दै यसपटक दर्शकबाट अपेक्षित साथ नपाएको देखिन्छ।
बक्स अफिस विवरणअनुसार कमाइका आधारमा ‘कबड्डी–५’ पछि ‘पेन्सन पट्टा’ रहेको छ। उक्त फिल्मले यस साता ५ लाख ५६ हजार ३९० रुपैयाँ कमाएको छ। यसको कुल आम्दानी भने १० करोड ३३ लाख ७४ हजार ८७८ रुपैयाँ पुगेको छ।
त्यसैगरी, ‘आ बाट आमा–२’ ले ६ करोड ८१ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ। ‘बाः एक योद्धा’ को आम्दानी ३ करोड ५६ लाख रुपैयाँ नाघेको छ भने ‘छ माया छपक्कै–२’ ले ३ करोड ४२ लाख रुपैयाँभन्दा बढी व्यापार गरेको छ।
यस्तै, ‘१२ गाउँ–२’ ले हालसम्म २ करोड ३१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको चलचित्र विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ।
बक्स अफिसमा ‘गौँथली’ सबैभन्दा अगाडि
चलचित्र विकास बोर्डको बक्स अफिस विवरणमा ‘गौँथली’ सबैभन्दा बढी कमाइ गर्ने फिल्मका रूपमा देखिएको छ। फिल्मले हालसम्म २६ करोड २७ लाख ४९ हजार ७३६ रुपैयाँ आम्दानी गरेको छ।
तर, यति ठूलो कमाइ गरेको ‘गौँथली’ अहिले कुन हलमा र कहाँ प्रदर्शन भइरहेको छ भन्ने विषय भने चासोको विषय बनेको छ।
