गीत सार्वजनिक भएपछि सरकारको आलोचना गरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी र आलोचना हुन थालेपछि क्षेत्रीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले देशमा विद्यमान समस्या उजागर गर्दै तिनको समाधानका लागि सुझाव दिने उद्देश्यले गीत तयार पारेको बताएका छन् ।
‘मैले सरकारको विरोध गरेको होइन । देशमा रहेका समस्याहरूलाई उजागर गर्दै ती समस्या कसरी सुल्झाउने भनेर देउसी–भैलोमार्फत सुझाव मात्र दिएको हुँ,’ उनले लेखेका छन् ।
गायक क्षेत्रीले आफ्नो सिर्जनालाई राजनीतिक विरोधका रूपमा नभई देश सुधारका लागि प्रस्तुत गरिएको सुझावका रूपमा बुझिदिन दर्शक तथा श्रोतासँग आग्रह गरेका छन् ।
केही दिनअघि सार्वजनिक भएको उनको ‘हामीलाई जागिर चाहियो’ बोलको गीतलाई लिएर सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको थियो । गीतमा सहकारी ठगी प्रकरण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गरिएको भन्दै केही प्रयोगकर्ताले आलोचना गर्नुका साथै गीत बहिष्कार गर्नुपर्ने मागसमेत गरेका छन् ।
गीतमा बेरोजगारीदेखि भ्रष्टाचारसम्मका विषय
क्षेत्रीको नयाँ देउसी–भैलो गीतमा देशको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । विशेषगरी बेरोजगारी, भ्रष्टाचार र राजनीतिक विकृतिलाई गीतको मुख्य विषय बनाइएको छ ।
गीतमार्फत युवाहरूले भोगिरहेको बेरोजगारीको समस्या उठाउँदै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने माग गरिएको छ । त्यस्तै, देशमा विभिन्न समस्या देखिँदा राजनीतिक नेतृत्व मौन बसेको भन्दै प्रश्नसमेत गरिएको छ ।
विकास निर्माणका काममा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार र सहकारी ठगीमा संलग्नमाथि प्रभावकारी कारबाही हुन नसकेको विषयलाई पनि गीतमा समेटिएको छ ।
गीतमा शङ्कर क्षेत्रीसँगै सपना मगर, रेणु लामिछाने, प्रमेश घिमिरे, प्रेम वि.के. र सन्देश सुवेदीले स्वर दिएका छन् । गीतको शब्द, सङ्गीत तथा निर्देशन स्वयं क्षेत्रीले गरेका हुन्
