मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीवार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा परी १० जनाको ज्यान गएको छ ।
काठमाडौंबाट यात्रु लिएर सर्लाही जाँदै गरेको माइक्रोबस बिहान करिब ६ः१० बजे अनियन्त्रित भएर सडकबाट झन्डै ७०० मिटर तल खसेको थियो । दुर्घटनामा ५ पुरुष, ३ महिला र २ बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाका बेला सवारीसाधनमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा घाइते भएका ५ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको छ । घाइते हुनेमा ३ पुरुष र २ बालक रहेका छन् ।
दुर्घटनास्थल भिरालो र कठिन भूगोलमा रहेकाले उद्धारमा समस्या भएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बलको भीमफेदीस्थित सुरक्षा बेसबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा उद्धार टोली खटिएको थियो । नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले घाइतेको उद्धार तथा मृतकको शव संकलन गरिरहेको छ ।
प्रारम्भिक जानकारीअनुसार माइक्रोबस सडकबाट निकै तल खसेका कारण अधिकांश यात्रुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाको वास्तविक कारण भने अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले तीव्र गति, सवारीसाधनमा भएको सम्भावित प्राविधिक समस्या र सडकको अवस्थालगायत पक्षलाई आधार बनाएर अनुसन्धान गरिरहेको छ ।
घटनास्थलमा उद्धार कार्य जारी रहेको छ भने घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।
