पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको नारायणी नदीकिनारमा बाहिरी क्षेत्रबाट आउने व्यक्तिहरूले लागुऔषध सेवन गर्ने स्थानका रूपमा प्रयोग गर्न थालेको स्थानीयको गुनासो छ।
स्थानीय भरत श्रेष्ठका अनुसार नदीको दृश्यावलोकन गर्न आउने कतिपय व्यक्तिले सवारीसाधन किनारमा पार्किङ गरी नजिकै रहेको खरको झाडीमा बसेर गाँजालगायतका लागुऔषध तथा मादक पदार्थ सेवन गर्ने गरेका छन्।
त्यहाँ बढ्दै गएको यस्तो गतिविधिका कारण बालबालिकासहित नदीकिनारमा घुम्न जानसमेत असुरक्षित महसुस हुन थालेको स्थानीय कविता पौडेलले बताइन्।
नदीकिनारमा लागुऔषध सेवनसँगै फोहोर व्यवस्थापनको समस्या पनि बढ्दै गएको छ। बाहिरबाट आउने व्यक्तिहरूले प्रयोग गरेका खानेकुराका प्याकेट तथा प्लास्टिकजन्य सामग्री जथाभावी फाल्दा नदीकिनार प्रदूषित बन्दै गएको स्थानीयको भनाइ छ।
जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सदस्य राजु अर्यालले विशेषगरी किशोर तथा युवालाई लागुऔषध दुर्व्यसनबाट टाढा रहन आग्रह गरिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे।
उनका अनुसार धेरैजसो पर्यटक तथा आगन्तुक होटलमा बस्नुभन्दा खुला नदीकिनारमै सवारीसाधन रोकेर प्राकृतिक दृश्यावलोकन गर्ने गरेका छन्।
स्थानीय दीपक विकले नारायणी नदीकिनारलाई व्यवस्थित र आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने बताए।
उनले नदीकिनारमा लागुऔषध तथा मादक पदार्थ सेवनमा रोक लगाउन, जथाभावी फोहोर फाल्न प्रतिबन्ध लगाउन र फोहोर संकलन तथा व्यवस्थापनको उचित व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।
नदीकिनारलाई लागुऔषध दुर्व्यसन र फोहोरको समस्याबाट मुक्त गराउन सके नारायणी हाइट भविष्यमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने स्थानीयको अपेक्षा छ।
