हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक ईभी दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारले क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । पीडित परिवारले सङ्घीय सरकारले विशेष रूपमा सम्बोधन गर्नुपर्ने माग राखेका हुन् ।
बिहीबार बिहान काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटनामा परेको थियो ।
दुर्घटनालाई असाधारण प्रकृतिको भन्दै पीडित परिवारले राज्यबाट विशेष राहत र क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने अडान राखेका छन् । माग पूरा नभएसम्म शव नबुझ्ने उनीहरूको भनाइ छ ।
मृतकका आफन्तले शव बुझ्न नमानेपछि १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको परिवारले भने शव बुझिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पीडित परिवारले यसअघि मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग अघि सारेका थिए । पछिल्लो समय उनीहरूले सङ्घीय सरकारले नै पीडित परिवारका माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।
यस विषयमा पीडित परिवार, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामबहादुर खत्री र स्थानीय जनप्रतिनिधिबीच छलफल भएको थियो । तर, छलफल निष्कर्षमा पुग्न नसकेको डीएसपी काफ्लेले बताए ।
उनका अनुसार पीडित परिवारका माग र क्षतिपूर्तिको विषयमा आज पुनः छलफल गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले कानुन तथा नियमअनुसार राज्यले उपलब्ध गराउने क्षतिपूर्ति दिन कुनै बाधा नरहेको बताएको पनि काफ्लेले जानकारी दिए ।
तर, पीडित परिवारले सङ्घीय सरकारबाट थप सम्बोधन हुनुपर्ने माग राखेपछि शव हस्तान्तरणको प्रक्रिया अघि बढ्न सकेको छैन ।
दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले जोखिमपूर्ण भिरमा उद्धार कार्य गरेको थियो । छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही फर्किरहेका यात्रु दुर्घटनामा परेका थिए ।
