परिवारका सदस्य गुमाएपछि गहिरो शोकमा रहेका यादवको रक्तचाप घटेपछि स्वास्थ्यमा समस्या देखिएको हो। उनलाई हेटौँडा अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ।
बिहीबार भएको दुर्घटनामा यादवले गर्भवती श्रीमतीसहित तीन छोरी र दुई भाइ गुमाएका हुन्। दुर्घटनामा उनकी ३५ वर्षीया श्रीमती पुनमदेवी यादव, १० वर्षीया छोरी अनुकुमारी यादव, ७ वर्षीया छोरी दीक्षा यादव र ५ वर्षीया छोरी दीपिका यादवको मृत्यु भएको छ।
त्यस्तै, उनका २६ वर्षीय सहोदर भाइ विकेश यादव र २४ वर्षीय भाइ सुबोध यादवले पनि दुर्घटनामा ज्यान गुमाएका छन्। दुर्घटनामा घाइते भएका उनका डेढ वर्षीय छोरा सुदीपको भने काठमाडौंमा उपचार भइरहेको छ।
परिवारका सदस्यहरू छठ पर्व मनाउन सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरस्थित घर फर्किंदै थिए। उनीहरू सवार माइक्रोबस भीमफेदीको चिसापानीगढीमा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
दुर्घटनाबाट जोगिएका अवधेश परिवारसँगै यात्रा गर्न नपाएपछि डेरामै रोकिएका थिए। गाडीमा सिट उपलब्ध नभएपछि आफू अर्को दिन आउने भन्दै उनले परिवारका सबै सदस्यलाई घर पठाएका थिए।
बिहानै दुर्घटनाको खबर पाएपछि उनी हतारिँदै हेटौँडा पुगेका थिए। तर, आफूले घर पठाएका परिवारका सदस्यहरूमध्ये डेढ वर्षीय छोरा मात्रै जीवित रहेको थाहा पाएपछि उनी गहिरो मानसिक पीडामा परेका छन्। परिवारका ६ सदस्य एकैपटक गुमाउनुपर्दाको पीडाले उनको स्वास्थ्यसमेत प्रभावित भएको छ।
