काठमाडौं, २७ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ।
मंगलबारको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६३ रन बनाएको हो।
नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। इनिङ्सको अन्त्यतिर करण केसीको योगदान पनि उल्लेखनीय रह्यो। केसीले लगातार तीन छक्का प्रहार गर्दै ओमानसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेका छन्।
जारी शृंखलामा नेपालले क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्दै छ। आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई हराएको थियो। नेपालले बाँकी तीनवटै खेल जितेमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्नेछ।
