ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चारवर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरेकी छन्।
मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले श्रम कूटनीति, आर्थिक साझेदारी र जलवायु कूटनीतिलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकताका रूपमा अघि सारेकी हुन्। संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत राणाले नेपाल र ओमानबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै श्रम आप्रवासन दुई देशबीचको सम्बन्धको बलियो आधार रहेको उल्लेख गरेकी छन्। परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार हाल करिब २५ हजार नेपाली ओमानमा कार्यरत छन्। आफ्नो कार्यकालमा नेपाली श्रमिकको हकहित, सुरक्षा र सीप विकासलाई उच्च प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता जनाएकी छन्।
राणाले ओमानको ‘भिजन २०४०’ सँग नेपालको प्राथमिकतालाई जोडेर आर्थिक कूटनीतिलाई अघि बढाउने योजना प्रस्तुत गरेकी छन्। कृषि, पर्यटन, नवीकरणीय ऊर्जा र वैदेशिक लगानी भित्र्याउने क्षेत्रमा उनले विशेष जोड दिएकी छन्।
तेस्रो प्रमुख आधारका रूपमा उनले ‘जलवायु कूटनीति’लाई प्रस्तुत गरेकी छन्। ओमानले जलस्रोत व्यवस्थापन र हरित ऊर्जामा गरिरहेको काम नेपालका लागि सिक्न योग्य भएको भन्दै उनले दुवै देशले जलवायु परिवर्तनको असर न्यूनीकरण र प्रकोप व्यवस्थापनमा सहकार्य गर्न सक्ने बताएकी छन्।
आफ्नो चारवर्षीय कार्ययोजनालाई उनले चरणबद्ध रूपमा अघि बढाउने प्रस्ताव गरेकी छन्। जसअनुसार सन् २०२७ सम्म आधार तयार पार्ने, २०२८ मा साझेदारी विस्तार गर्ने, २०२९ मा सम्भाव्य क्षेत्रमा काम गर्ने र २०३० सम्म उपलब्धिहरूलाई दिगो बनाउने लक्ष्य राखिएको छ।
