२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको मधेशी खुला पुरुषतर्फको मतगणनामा अनिल रुंगटाले आफ्नो अग्रता कायम राखेका छन्।
मतगणना जारी रहँदा मिडिया सेन्टरले सार्वजनिक गरेको विवरणअनुसार रुंगटाले २ हजार १५५ मत प्राप्त गरेका छन्। हालसम्म ३ हजार ९०० मत गणना भइसकेको छ।
उक्त पदका लागि रामकृष्ण यादव १ हजार ७३८ मतसहित दोस्रो स्थानमा छन् भने डा. गरिबदास ठाकुर १ हजार ७३६ मतका साथ तेस्रो स्थानमा रहेका छन्।
त्यसैगरी, दिनेश यादवले १ हजार ५७८, जितेन्द्र देवले १ हजार ५३६, अशर्फी साहले १ हजार ५१४ र अशोककुमार शाहले १ हजार ३३९ मत पाएका छन्।
यसैगरी, उमेशचन्द्र यादवले १ हजार ३००, मिथलेश मिश्राले १ हजार १६९, जंगिलाल रायले १ हजार ८४ र परमेश्वर साहले १ हजार ७० मत प्राप्त गरेका छन्।
त्यस्तै, श्रीप्रसाद राउतले ८१२ मत पाउँदा लालबहादुर राउतले ७९६ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा मधेशी खुला पुरुषतर्फबाट तीन जना निर्वाचित हुने व्यवस्था छ।