२९ असोज, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको सिफारिस समितिले कार्ययोजना र प्रस्तुतीकरणको मूल्यांकनमा सर्वाधिक अंक प्राप्त गर्ने तीन प्रतिस्पर्धीलाई छनोट गरेको हो।
सिफारिसमा पर्नेमा तनहुँका डिल्लीराज लम्साल, सिरहाकी संगीता यादव र काठमाडौंका होमनाथ न्यौपाने रहेका छन्।
समितिले सीईओ पदका लागि आवेदन दिएका १६ जना उम्मेदवारको गत १७ र १८ असोजमा अन्तर्वार्ता लिएको थियो। सोही क्रममा उनीहरूको कार्ययोजना प्रस्तुतीकरणसमेत मूल्यांकन गरी उत्कृष्ट तीन जनाको नाम सिफारिस गरिएको हो।
अब सिफारिस गरिएका तीन उम्मेदवारमध्ये एक जनालाई मन्त्रिपरिषद्ले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने कानुनी व्यवस्था छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओ पद गत वैशाखको तेस्रो सातादेखि रिक्त छ। सरकारले जारी गरेको नयाँ अध्यादेशका कारण तत्कालीन प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले कार्यकाल पूरा नहुँदै पद छाड्नुपरेको थियो।
