चारदिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किइन्
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चारदिने चीन भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएकी छन्। चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर उनी नेपाल फर्किएकी हुन्।
भण्डारी गत बिहीबार सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेकी थिइन्। ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ भन्ने विषयवस्तुमा केन्द्रित सम्मेलन अक्टोबर २३ देखि २५ सम्म सञ्चालन भएको थियो। उनले शनिबार सम्मेलनमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन्।
सम्बोधनका क्रममा भण्डारीले जलवायु परिवर्तनका प्रभाव, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा नेपालको धारणा प्रस्तुत गरेकी थिइन्।
नेपालमा पछिल्लो समय देखिएका गम्भीर प्राकृतिक विपद्ले जलवायु परिवर्तनको असरलाई थप स्पष्ट पारेको उल्लेख गर्दै उनले नेपालको जलवायु न्यायसम्बन्धी मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी थिइन्।
उनले विश्वव्यापी शासन प्रणाली र जलवायु न्यायबीच प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै हिमालय क्षेत्रलाई जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनका दृष्टिले साझा प्राकृतिक सम्पदाका रूपमा व्याख्या गरेकी थिइन्। यसको संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
भण्डारीले नेपाल, चीन, भारतलगायत हिमाली देशबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदीको निगरानी, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य बढाउनुपर्नेमा जोड दिएकी थिइन्।
अन्तर्राष्ट्रिय सम्बन्ध शक्ति प्रदर्शनका आधारमा नभई अन्तर्राष्ट्रिय कानुनबाट निर्देशित हुनुपर्ने धारणा राख्दै उनले सबै राष्ट्रको आवाजलाई सम्मान गर्ने र जोखिममा रहेका मुलुकका सरोकारलाई उचित स्थान दिने विश्वव्यवस्थाको आवश्यकता औँल्याएकी थिइन्।
समकालीन विश्वको विविधता र आकाङ्क्षालाई प्रतिनिधित्व गर्न संयुक्त राष्ट्रसङ्घलाई अझ प्रभावकारी संस्थाका रूपमा सुदृढ बनाउनुपर्नेमा समेत उनले जोड दिएकी थिइन्।
