सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख चाडपर्व सकिएलगत्तै सरकार परिवर्तनको चर्चा विडम्बनापूर्ण र चिन्ताजनक भएको बताएका छन् ।
- उनले विगतमा पटकपटक सरकार परिवर्तन हुँदा देशले दुष्परिणाम भोगिसकेको र फेरि त्यही प्रवृत्ति दोहोर्याउनु देशलाई अनिश्चिततातर्फ धकेल्नु भएको बताएका छन् ।
- भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म पूरा अवधि काम गर्न दिनुपर्ने र काम नगरे वा बिगारे अर्को चुनावबाट बिदा गर्नुपर्ने बताएका छन् ।
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै सरकार परिवर्तन गर्ने वा ढाल्ने चर्चा चल्न थाल्नु विडम्बनापूर्ण र चिन्ताजनक भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म पूरा अवधि काम गर्न दिनुपर्ने बताएका हुन् ।
उनले विगतमा पटकपटक सरकार परिवर्तन हुँदा त्यसको दुष्परिणाम देखिसकिएको उल्लेख गर्दै फेरि पनि त्यही प्रवृत्ति दोहोर्याउनु देशलाई अनिश्चिततातर्फ धकेल्नु भएको बताएका छन् ।‘अब पनि दोहोर्याइरहनु भनेको देशलाई अनिश्चितताको भुमरीमा फसाइराख्ने, अर्थतन्त्रलाई पातालतिर धसाइराख्ने, छोराछोरी विदेशतिर लखेटेर बाबुआमा पुर्पुरोमा हात लगाएर बसिरहने, देशलाई मडारिँदो भूराजनीतिक आँधीबेहरीको जोखिममा होम्ने अल्पदृष्टि र पटमूर्खता बाहेक अरू के हुनसक्छ ?’ उनले लेखेका छन् ।भट्टराईले उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलबीच निरन्तर प्रतिस्पर्धा र सहकार्य हुनुका साथै सदन र सडकमा आलोचना–प्रत्यालोचना हुनु स्वाभाविक र आवश्यक भएको बताएका छन् ।उनले सरकार र सत्ताका विभिन्न अंगमा रहेकाहरूलाई निरन्तर खबरदारी गर्न पनि सबै नागरिकलाई आग्रह गरेका छन् । विशेषगरी विपत्तिमा परेका, ऐतिहासिक वञ्चितीकरणमा परेका र गरिब तथा निमुखा जनताको आवाज सत्तामा रहेकाहरूले सुन्नुपर्ने उनको भनाइ छ ।सत्तामा बस्नेहरूले जनताको आवाज नसुने विधिसम्मत ढंगले दण्डित गर्नुपर्ने र हटाउनुपर्ने उल्लेख गर्दै उनले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म पूरा अवधि काम गर्न दिनुपर्ने बताएका छन् ।
‘काम नगरे वा विगारे अर्को चुनावबाट बिदा गरौँ,’ भट्टराईले लेखेका छन् ।
\
