विद्यादेवी भण्डारीको चीन भ्रमणबारे चासो, राजनीतिक भेटवार्ता नभएको दाबी
काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा गएसँगै उनको भ्रमणलाई लिएर विभिन्न राजनीतिक अड्कलबाजी भएका थिए। तर, भ्रमण दलका सदस्यहरूले भने उक्त भ्रमण सम्मेलनमा सहभागितामा केन्द्रित रहेको र कुनै राजनीतिक भेटवार्ता नभएको बताएका छन्।
कात्तिक ५ देखि ९ गतेसम्म चीनमा रहेकी भण्डारी हपेई प्रान्तको स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएकी थिइन्। ‘चाइना पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स’ले आयोजना गरेको सम्मेलनमा उनी विशिष्ट अतिथिका रूपमा सहभागी भएकी हुन्।
भण्डारीसँगै चीन गएका भ्रमण दलका एक सदस्यका अनुसार भ्रमणका क्रममा सामूहिक शिष्टाचार भेटबाहेक छुट्टै राजनीतिक बैठक वा छलफल भएको थिएन। सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीसमेत सहभागी भएकाले सामूहिक भेटघाट हुनु स्वाभाविक रहेको उनले बताएका छन्।
चीनबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले पनि आफू सम्मेलनमा सहभागी हुन चीन गएको बताएकी थिइन्। उनले सम्मेलनमा राखेका आफ्ना धारणा सार्वजनिक भइसकेको उल्लेख गरेकी थिइन्।
अक्टोबर २३ देखि २५ सम्म ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ विषयमा आयोजित सम्मेलनमा करिब १२० देशका झन्डै २०० प्रतिनिधि सहभागी भएका थिए। कार्यक्रममा पूर्वराष्ट्रप्रमुख, पूर्वसरकारप्रमुख, मन्त्री तथा कूटनीतिक मामिलाका विज्ञहरूको सहभागिता थियो।
सम्मेलनमा सम्बोधन गर्दै भण्डारीले जलवायु परिवर्तन, खाद्य असुरक्षा, गरिबी, असमानता र भूराजनीतिक तनावजस्ता चुनौती समाधान गर्न अन्तर्राष्ट्रिय संवाद र सहकार्य आवश्यक रहेको बताएकी थिइन्।
उनले नेपाल–चीन सम्बन्धको चर्चा गर्दै पारस्परिक सम्मान, विश्वास र सहकार्यमा आधारित सम्बन्धको महत्त्व औँल्याएकी थिइन्। साथै, एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै राष्ट्रहरूको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानले अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउने धारणा राखेकी थिइन्।
चीनबाट फर्किएपछि भण्डारीसँग भेट गरेका एक एमाले नेताका अनुसार उनले आफ्नो भ्रमण कुनै राजनीतिक उद्देश्य वा एजेन्डामा केन्द्रित नरहेको बताएकी थिइन्। आयोजकले उनलाई एमाले नेताका रूपमा नभई पूर्वराष्ट्रप्रमुखको हैसियतमा निमन्त्रणा गरेको पनि बताइएको छ।
भण्डारीलाई सम्मेलनमा सहभागी हुन आयोजकले गत जेठमै निमन्त्रणा पठाएको थियो। त्यसपछि एमालेको असोजमा सम्पन्न केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेताका रूपमा मनोनीत गरेको थियो।
भण्डारीको चीन भ्रमणलाई नेपालको आन्तरिक राजनीति र वामपन्थी दलहरूबीचको सम्भावित सहकार्यसँग जोडेर पनि चर्चा गरिएको थियो। तर, भ्रमण दलका सदस्यहरूले राजनीतिक भेटवार्ता नभएको दाबी गरेका छन्।
यसैबीच, नेपालका कम्युनिस्ट पार्टीहरूसँग चीनको पछिल्लो सम्बन्ध, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन र बदलिँदो क्षेत्रीय राजनीतिक अवस्थालाई पनि चासोका साथ हेरिएको छ। यद्यपि, यी विषयले भण्डारीको भ्रमणमा प्रत्यक्ष प्रभाव पारेको भन्नेबारे स्पष्ट प्रमाण सार्वजनिक भएको छैन।
