दक्षिण–पश्चिम चीनको गुइझोउ प्रान्तमा केरा खेती गर्ने किसानका लागि पछिल्लो समय ड्रोन प्रविधि वरदान साबित भएको छ । दुर्गम पहाडी भेगमा अवस्थित गुइझोउका मुख्य केरा उत्पादन क्षेत्रहरूमा परम्परागत रूपमा हातैले केरा ओसारपसार गर्दा हुने ढिलाइ र कठिनाइ कम गर्न ड्रोनको व्यापक प्रयोग सुरु गरिएको छ ।
चीनको सेहेङ काउन्टीस्थित यान्जिया टाउनमा गरिएको यो प्रविधिको प्रयोगले कृषि क्षेत्रमा आधुनिक औद्योगिकीकरणको नयाँ ढोका खोलेको छ । एकपटकमा १०० किलोग्रामसम्म केरा बोक्न सक्ने ड्रोनले निकै कम समयमा उत्पादनलाई बजार वा सङ्कलन केन्द्रसम्म पुर्याउन मद्दत गरिरहेको छ ।
प्राप्त तथ्याङ्कअनुसार एउटा ड्रोनले एकतर्फी यात्राका लागि जम्मा दुईदेखि तीन मिनेट मात्र लगाउँछ । यसअघि परम्परागत विधिबाट एक व्यक्तिले दिनभरिमा मुस्किलले ५०० किलोग्राम केरा मात्र ओसार्न सक्थ्यो । तर, ड्रोनको प्रयोगले सोही अवधिमा पाँचदेखि आठ टनसम्म केरा ढुवानी गर्न सम्भव भएको छ ।
यस प्रविधिले किसानको श्रम लागत घटाउनुका साथै उत्पादित केराको गुणस्तर कायम राख्न पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । पहाडी इलाकाका कठिन बाटोमा भारी बोकेर हिँड्नुपर्ने किसानको बाध्यता हटेपछि स्थानीयस्तरमा कृषि उत्पादनको बिक्री र वितरणमा समेत तीव्रता आएको छ । सरकारी निकाय र स्थानीय कृषि सहकारीहरूले यो प्रविधिलाई थप प्रभावकारी बनाउन आधुनिक सञ्जाल विस्तार गरिरहेका छन् ।
