काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछि प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्यढाँचा (फ्रेमवर्क) तयार गरी पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारमा आयोजित बैठकमा मन्त्री लम्सालले उद्धार तथा राहतको चरणसँगै अब पुनर्निर्माणको प्रक्रियालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रिय योजना आयोग, मुख्य सचिव तथा विज्ञ सुशील ज्ञवालीसहितको टोलीलाई कार्यढाँचा तयार गर्न निर्देशन दिएका हुन्।
उनले विद्यमान ऐन तथा कानुनी व्यवस्थाको परिधिभित्र रहेर पुनर्निर्माणको प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए। नयाँ संरचना निर्माण गर्न लामो समय लाग्ने भएकाले हालकै कानुनी व्यवस्थालाई आधार बनाएर विगतको पुनर्निर्माण प्राधिकरणजस्तै शक्तिशाली, अधिकारसम्पन्न र प्रभावकारी संयन्त्र बनाएर काम अघि बढाउनुपर्ने उनको धारणा छ।
मन्त्री लम्सालले विगतका पुनर्निर्माण तथा विपद् व्यवस्थापनका क्रममा देखिएका कमजोरीको सूक्ष्म अध्ययन गरी आगामी दिनमा सुधार गर्नुपर्ने कानुनी तथा संस्थागत व्यवस्थाको समेत खाका तयार गर्न योजना आयोगलाई निर्देशन दिएका छन्।
उनले विपद्को समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालय तथा विपद् व्यवस्थापनसम्बन्धी संयन्त्र स्वतः सक्रिय हुनुपर्ने भए पनि त्यसअनुसार प्रभावकारी रूपमा परिचालन हुन नसकेको विषयमा समेत चासो व्यक्त गरे।
भविष्यमा जुनसुकै प्रकारको विपद् आए पनि राज्यका संयन्त्रहरूले कसैको निर्देशन पर्खनुपर्ने अवस्था नआउने गरी स्वचालित रूपमा उद्धार, राहत तथा पुनःस्थापनामा परिचालित हुनसक्ने प्रणाली विकास गर्नुपर्ने मन्त्री लम्सालले बताए।
पुनर्निर्माणका लागि आवश्यक विभिन्न कार्यदल गठन गरी प्रत्येक कार्यदलको कार्यक्षेत्र, जिम्मेवारी र अधिकारसमेत स्पष्ट रूपमा तोकिने तयारी गरिएको छ। बैठकको आगामी सत्रमा प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालको नेतृत्वमा कार्यदलको अन्तिम रूपरेखा तथा जिम्मेवारी बाँडफाँट टुंग्याउने तयारी रहेको जनाइएको छ।
मन्त्री लम्सालले ठोस कार्ययोजना र कार्यदलहरूको जिम्मेवारी स्पष्ट भएपछि मात्र पुनर्निर्माणसम्बन्धी बैठकलाई निष्कर्षमा पुर्याइने बताएका छन्।
– न्युज एजेन्सी नेपाल
