काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका सिनेटर फ्लाभियो बोल्सोनारो अमेरिका आउन चाहे प्रवेशका लागि आफू सकारात्मक रहेको बताएका छन्। बुधबार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले यस्तो धारणा राखेका हुन्।
टेक्सासको चुनावी भ्रमण सकेर फर्किने क्रममा जोइन्ट बेस एन्ड्र्युजमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्लाभियो अर्जेन्टिनामा रहेको सुनेको पनि बताए।
रोयटर्सका अनुसार फ्लाभियोले मंगलबार ब्राजिल छाडेका थिए। अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले फ्लाभियो र उनको परिवारलाई अमेरिका प्रवेशका लागि भिसा उपलब्ध गराइने जानकारी दिएका थिए।
ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँगको निर्वाचनमा पराजित भएका फ्लाभियोले भने हार स्वीकार गरेका छैनन्। सर्वोच्च अदालतको राहदानी बुझाउनुपर्ने आदेश पालना नगरेपछि उनले देश छाडेको समाचारमा उल्लेख छ।
ट्रम्पले फ्लाभियो र उनको परिवारप्रति सहानुभूति व्यक्त गर्दै ब्राजिलको निर्वाचन प्रक्रियाबारे असन्तुष्टि जनाए। उनले निर्वाचनको नतिजा र त्यसको प्रभावबारे आफूलाई राम्रो नलागेको बताए।
यद्यपि, ट्रम्पले आफूले निर्वाचनमा कुनै पक्ष नलिएको स्पष्ट पारे। उनले ब्राजिलका राष्ट्रपति लुला र फ्लाभियो दुवैलाई चिनेको तथा फ्लाभियोका पिता एवं पूर्वराष्ट्रपति जैर बोल्सोनारोसँग आफ्नो राम्रो परिचय रहेको बताए।
ट्रम्पले पूर्वराष्ट्रपति जैर बोल्सोनारोमाथि ब्राजिलमा अन्यायपूर्ण व्यवहार भएको आफ्नो धारणा दोहोर्याउँदै त्यस विषयमा आफू प्रत्यक्ष रूपमा संलग्न नरहेको उल्लेख गरे।
पुटिन र जेलेन्स्कीसँग भेट्ने ट्रम्पको चाहना
यसैबीच, ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग निकट भविष्यमा भेटवार्ता गर्ने इच्छा व्यक्त गरेका छन्। उनले रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा उल्लेखनीय प्रगति भइरहेको आफ्नो धारणा पनि सार्वजनिक गरे।
पुटिनले आगामी महिना अमेरिकी मध्यस्थतामा युक्रेनसँग वार्ता पुनः सुरु गर्न रुस तयार रहेको बताएका छन्। उनले दुवै देशको सुरक्षा सुनिश्चित गर्नुका साथै समग्र युरोपका लागि सुरक्षा संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आणविक हतियार न्यूनीकरणसम्बन्धी बैठक तय भएको पनि जानकारी दिए। त्यस्तै, नोभेम्बरमा फिलिपिन्सको राजधानी मनिलामा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनमा सहभागी हुने उनको कार्यक्रम रहेको समाचारमा उल्लेख छ।
नेतन्याहुको चुनावी प्रदर्शनबारे ट्रम्पको टिप्पणी
इजरायलको निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दलले सिट गुमाएको विषयमा प्रतिक्रिया दिँदै ट्रम्पले नेतन्याहुको प्रदर्शन राम्रो रहेको आफूले सुनेको बताए।
उनले निर्वाचनको प्रतिस्पर्धालाई सकारात्मक रूपमा व्याख्या गर्दै आफूले नेतन्याहुलाई दिएको समर्थनले उनलाई सहयोग पुगेको दाबी गरे। निर्वाचनको अन्तिम परिणाम जित वा बराबरीको अवस्थामा पुग्न सक्ने उनको भनाइ थियो।
उता, अमेरिकामा आगामी साता हुने मध्यावधि निर्वाचनलाई लिएर पनि राजनीतिक चासो बढेको छ। विभिन्न सर्वेक्षणले ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का एक वा दुवै सदनमा आफ्नो नियन्त्रण गुमाउन सक्ने सम्भावना देखाएका छन्।
