इकाई प्रमुख कृष्णचन्द्र पोखरेलका अनुसार केही शिक्षक तथा कर्मचारीले पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग गरेको भन्दै विभिन्न माध्यमबाट गुनासा आएपछि यसबारे सचेत गराइएको हो। उनले शिक्षक तथा कर्मचारीलाई कानुन र नियमावलीमा रहेका व्यवस्थाबारे पुनः जानकारी गराइएको बताए।
“कानुन र नियमावलीमा भएका कुरा सम्झाएको मात्रै हो। यसको पालना गर्न सबैले पर्दछ,” पोखरेलले भने।
इकाईले शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (घ) तथा सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० को दफा ४ मा रहेका प्रावधान स्मरण गराउँदै तिनको पालना गर्न निर्देशन दिएको हो।
निर्देशनमा नेपाल सरकार र नेपाली जनतासँगको सम्बन्धमा खलल पुग्ने गरी बेनामी वा काल्पनिक नामबाट लेख प्रकाशन गर्ने, प्रेसलाई सूचना दिने, रेडियो वा टेलिभिजनमार्फत भाषण गर्ने तथा सार्वजनिक भाषण वा वक्तव्य दिने कार्यमा कानुनी निषेधात्मक व्यवस्था रहेको उल्लेख छ।
त्यस्तै, शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) अनुसार शिक्षक तथा कर्मचारीले आचारसंहिता पालना गरे वा नगरेको विषयमा प्रभावकारी अनुगमन र नियमन गर्न पनि इकाईले सम्बन्धित विद्यालयलाई आग्रह गरेको छ।
