मौसम विभागका अनुसार चक्रवातको केन्द्रमा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर पुगेको छ। केही स्थानमा यसको गति प्रतिघण्टा १५० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
पछिल्लो तीन घण्टामा प्रतिघण्टा तीन किलोमिटरको गतिमा उत्तरपश्चिमतर्फ अघि बढेको चक्रवात सुरुमा उत्तरपश्चिम र त्यसपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरिएको छ। आईएमडीले जारी गरेको बुलेटिनमा चक्रवातको जमिनमा प्रवेश गर्ने प्रक्रिया थप तीन घण्टासम्म जारी रहने उल्लेख छ।
बापटला र विशाखापटनमको बीचमा पर्ने यानमको दक्षिणी क्षेत्रमा चक्रवातले प्रभाव पारिरहेको छ। उक्त क्षेत्रमा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर रहने र अधिकतम १५० किलोमिटरसम्म पुगेर क्रमशः घट्ने मौसम विभागको अनुमान छ।
समुद्री लहर र बाढीको जोखिम
चक्रवातको प्रभावसँगै भारतीय मौसम विज्ञान विभागले तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने चेतावनी दिएको छ। समुद्रमा १.५ देखि २.५ मिटरसम्म अग्ला लहर उठ्न सक्ने र त्यसले आन्ध्र प्रदेशका होचा तटीय क्षेत्र डुबानमा पार्न सक्ने अनुमान गरिएको छ।
विशेषगरी काकिनाडा र पुडुचेरीअन्तर्गत पर्ने यानम आसपासका क्षेत्रमा अग्ला समुद्री लहरको जोखिम बढी रहेको जनाइएको छ।
अक्टोबर २८ को बिहानसम्म अनकापल्ली र विशाखापटनम जिल्लाका विभिन्न स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा भइसकेको छ। लगातारको वर्षाले तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ।
रुख ढले, सडक अवरुद्ध
चक्रवातका कारण आन्ध्र प्रदेशको काकिनाडामा धेरै रुख ढलेका छन् भने विद्युत्का पोलसमेत भाँचिएका छन्। तीव्र हावाहुरी र वर्षाका कारण विशाखापटनमको बिच रोड र सीताम्माधारामा रुख ढलेपछि सडक अवरुद्ध भएको छ।
चक्रवात ‘अर्नब’को प्रभाव आन्ध्र प्रदेशमा मात्र सीमित नरही भारतको पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा पनि परेको छ। त्यहाँ भारी वर्षा र तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित भएको विवरणमा उल्लेख छ।
