काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेका नागरिकको उद्धारमा सरकारले पर्याप्त प्राथमिकता नदिएको परिवारजनले गुनासो गरेका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनको ललितपुरस्थित कार्यालयमा आयोजित कार्यक्रममा इन्जिनियर तथा प्राविधिकका आफन्तहरूले विपद्पछिको खोज तथा उद्धारमा सरकारले केही काम गरे पनि सुरुङ र पावरहाउसमा फसेका नागरिकको उद्धारमा उदासीनता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर निरजबाबु रेग्मीका काका यमलाल रेग्मीले राज्यका विभिन्न निकायसँग निरन्तर हारगुहार गर्दा पनि अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभयो । उहाँका अनुसार भतिज निरजको अवस्था पत्ता लगाउन तथा उद्धारका लागि परिवारले ६ दिनदेखि पहल गरिरहेको छ ।
उहाँले सरकारले जंगल तथा अन्य स्थानमा रहेका नागरिकको उद्धार गरे पनि सुरुङ र पावरहाउसमा फसेका नागरिकको उद्धारमा प्रभावकारी कदम चाल्न नसकेको बताउनुभयो । सुरुङभित्र उद्धारका लागि सामान्य उपकरण मात्र लिएर गएर सम्भव नहुने भन्दै उहाँले आवश्यक परे विदेशबाट विशेषज्ञ तथा उद्धार उपकरण ल्याएर भए पनि उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो भतिज सम्पर्कविहीन भएको छ । मैले उसको उद्धारका लागि मन्त्रालय र राज्यका निकायसँग हारगुहार गरिरहेका छौँ । त्यहाँ मेरो भतिज मात्र होइन, थुप्रै जना अड्किनुभएको अवस्था छ । सरकारले उद्धार गरेको छ, नगरेको होइन । तर प्राथमिकता कतातिर हुनुपर्ने हो, त्यतातिर प्राथमिकतामा परेन जस्तो हो ।’
उहाँले बाढी आएको तेस्रो दिनसम्म पनि त्रिशूली ‘ए’ जलविद्युत् आयोजनामा आवश्यक मेसिन लैजान नसकिएको जवाफ आएको भन्दै सरकारको उद्धार व्यवस्थापनप्रति प्रश्न उठाउनुभयो ।
‘उद्धार गर्ने भनेर केही उद्धारकर्मीहरू बेल्चा लिएर परिचालन गरिएको थियो । अब भन्नुस्, हाम्रो व्यवस्थापकीय क्षमता कस्तो रहेछ ?’ उहाँले प्रश्न गर्नुभयो ।
त्यस्तै, नारायणी जोशीले आफ्ना श्रीमान्सहित नेपाल विद्युत् प्राधिकरणका ४० जना कर्मचारी त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा उद्धारको पर्खाइमा रहेको बताउनुभयो ।
उहाँका अनुसार त्रिशूली थ्री ‘ए’ को पावरहाउस अन्य केही पावरहाउसको तुलनामा सुरक्षित रहेको जानकारी पाएपछि परिवारजन उनीहरू जीवितै रहेको आशामा उद्धारको प्रतीक्षा गरिरहेका छन् । तर बाढी आएको ६ दिन बितिसक्दा पनि उद्धारमा सरकारले पर्याप्त तदारुकता नदेखाएको उहाँको गुनासो छ ।
उहाँले एक–दुई जना मात्र नभई सुरुङ तथा पावरहाउसमा ठूलो संख्यामा नागरिक फसेको अवस्थामा समेत सरकारले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘१० गतेको बाढीमा मेरो श्रीमान्सहित ४० जना एनईएका कर्मचारी त्रिशूली थ्री ए जलविद्युत् आयोजनामा अड्किएर बस्नुभएको छ । त्यो पावरहाउस अन्य पावरहाउसभन्दा सुरक्षित छ भन्ने सुनिएको छ । त्यसकारण हाम्रा आफन्तहरू त्यहाँ जीवित छन् भनेर आशासहित राज्य संयन्त्रसँग हारगुहार गरिरहेका छौँ । उद्धारमा नै सरकारको सक्रियता छैन । यति क्रिटिकल कुरालाई सरकारले यति हलुका रूपमा कसरी लियो ? बाढी आएको दोस्रो दिनमै उद्धार हुनुपर्नेमा ६ दिन भइसक्यो । सरकारको प्राथमिकता के हुनुपथ्र्यो ?’
सम्पर्कविहीन नागरिकका आफन्तहरूले बाढी आएको ६ दिन बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था पत्ता लाग्न नसकेको भन्दै तत्काल प्रभावकारी खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।
– न्युज एजेन्सी नेपाल