त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौंका कप्तान करण केसीले पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर, टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनायो।
काठमाडौंका लागि मध्यक्रमका ब्याटर भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनलाई ललित राजवंशीले विकेटकिपरको सहयोगमा स्टम्पिङ आउट गराए। रसिद खानले १७, ओपनर स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे।
जनकपुरका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादवले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए। ट्यालेन्ट हन्टबाट उदाएका राहुलले साम, स्मित पटेल, कप्तान करण केसी र अलराउन्डर आदिललाई आउट गर्दै काठमाडौंको ब्याटिङ लाइनअपलाई दबाबमा पारे। उनले यसअघिको खेलमा कर्णाली याक्सविरुद्ध पनि दुई विकेट लिएका थिए।
जनकपुर बोल्ट्स प्रतियोगितामा पहिलो जितको खोजीमा छ। टोली आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो।
काठमाडौंविरुद्धको खेलमा जनकपुरले जेम्स निसमलाई विश्राम दिएको छ। हर्मित र मोइन अलीलाई निरन्तरता दिँदै टोलीले बंगलादेशका सइफ हसन र श्रीलंकाका कुशल परेरालाई पनि प्लेइङ ११ मा समावेश गरेको छ।
