महाधिवेशनमा पराजित एक उम्मेदवारले बिहीबार बिहान केन्द्रीय निर्वाचन समितिमा इमेलमार्फत उजुरी दिएका हुन्। उजुरीकर्ताले बस्नेतको शैक्षिक योग्यतासम्बन्धी विषयमा प्रश्न उठाउने तथ्य तथा प्रमाण प्राप्त भएको दाबी गरेका छन्। अनलाइनखबरको सम्पर्कमा आएका उनले भने आफ्नो नाम सार्वजनिक गरेका छैनन्।
उजुरीसँगै नेपाल इन्जिनियरिङ परिषद्को दर्तासम्बन्धी उपलब्ध विवरण र विषयसँग सम्बन्धित अन्य सान्दर्भिक कागजात पनि संलग्न गरिएको उजुरीकर्ताले बताएका छन्।
उजुरीमा यस विषयलाई व्यक्तिगत आग्रह, पूर्वाग्रह वा राजनीतिक प्रतिशोधका रूपमा नभई पार्टीको प्रतिष्ठा, निष्पक्षता र संस्थागत मर्यादासँग जोडिएको गम्भीर सरोकारका रूपमा लिन आग्रह गरिएको छ।
बस्नेतको शैक्षिक प्रमाणपत्रको आधिकारिकता र वैधताबारे सम्बन्धित विश्वविद्यालय तथा नेपाल इन्जिनियरिङ परिषद्सँग आवश्यक जानकारी लिएर सत्यतथ्य पुष्टि गर्नुपर्ने माग उजुरीमा गरिएको छ।
त्यस्तै, प्राप्त कागजात र प्रमाणका आधारमा निष्पक्ष तथा तथ्यपरक छानबिन गर्न र कुनै अनियमितता वा प्रचलित नियमविपरीतको कार्य पुष्टि भएमा पार्टीको विधान तथा प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाउन पनि माग गरिएको छ।
यसअघि कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिको खुला समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध पनि उजुरी परेको थियो। उक्त उजुरीमा ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि समूहबाट उम्मेदवारी दिएका तथा निर्वाचित भएका सबै उम्मेदवारको उमेर आधिकारिक नागरिकता र अन्य प्रमाणिक कागजातका आधारमा छानबिन गर्न माग गरिएको थियो।
