काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सभापति गगनकुमार थापाबाहेक अन्य पदाधिकारी र चार जना केन्द्रीय सदस्यबाहेक निर्वाचित सदस्यहरूले शपथ लिएका हुन्। उनीहरूलाई निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले शपथ गराएका थिए।
सभापति थापाले विवादमा परेका चार जना केन्द्रीय सदस्यको शपथ भने रोकेका छन्। शपथ रोकिएकामा सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र सुशील भट्ट रहेका छन्।
भट्टको उमेर ३५ वर्षभन्दा बढी देखिएको तथा चालिसे, बस्नेत र खड्कासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उनीहरूको शपथ रोकिएको जनाइएको छ। उनीहरूले सफाइ पाएपछि मात्रै जिम्मेवारी तोकिने भएको छ।
