नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.४१ अंक, फ्लोट इन्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२५ अंकले बढेका छन्।
बिहीबार कारोबार भएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। अन्य, बैंकिङ तथा होटल र पर्यटन उपसमूहको परिसूचकमा २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ।
नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार ७ अर्ब ४५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँबराबरका २ करोड ३२ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।
बिहीबार घलेम्दी हाइड्रो कम्पनीको सबैभन्दा बढी ३५ करोड ६१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सिद्धार्थ बैंकको करिब साढे २५ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकको २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यस दिन बेनी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य ८० रुपैयाँ ५० पैसाले बढेर अन्तिम कारोबार हुँदा ६१७ रुपैयाँ २० पैसा पुगेको छ।
त्यस्तै, सोपान फर्मास्यूटिकल्सको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ।
