मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म मौसम प्रतिकूल रहन सक्ने चेतावनी दिएको छ।
कस्तो रहनेछ मौसम?
महाशाखाका अनुसार यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा र हिमपातको जोखिम रहेको महाशाखाले जनाएको छ।
कृषि कार्य र जनजीवन प्रभावित हुन सक्ने
अचानक हुने वर्षा र हिमपातले पाकेको धानबालीमा क्षति पुर्याउन सक्ने भएकाले महाशाखाले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न महाशाखाले अनुरोध गरेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिउँआँधी (ब्लिजार्ड) र हिमपहिरोको जोखिमसमेत रहेको छ। त्यसलाई ध्यानमा राख्दै पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा त्यहाँ पुगिसकेका व्यक्तिलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने
मौसममा हुने परिवर्तनका कारण चिसो बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो जान सक्ने जोखिम रहेको छ। यसले सडक तथा हवाई यातायातसँगै दैनिक जनजीवनसमेत प्रभावित पार्न सक्ने महाशाखाको आकलन छ।
सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन, पूर्वतयारी गर्न तथा सम्बन्धित निकायले जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ।
