काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमा रहेका ३५ वटाभन्दा बढी पुलमा क्षति पुगेको छ । रसुवा, नुवाकोट र धादिङका पक्की, बेलिब्रिज तथा झोलुङ्गे पुल बाढीले बगाएको हो ।
बाढीले कतिपय पुल पूर्ण रूपमा बगाएको छ भने केहीमा आंशिक क्षति पुगेको छ । तर त्रिशूली नदीमा आएको भीषण बाढीका बीच धादिङको गल्छीस्थित महेशदोभानमा निर्माणाधीन एउटा पुल भने जोगिएको छ ।
धादिङबेँसी जोड्ने फुर्केखोला पुलसमेत बाढीले बगाएको अवस्थामा गल्छीको उक्त पुल कसरी जोगियो भन्ने प्रश्न उठेको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार नदीको भौगोलिक बनोट, पुलको स्पान तथा पुलको जग चट्टानभित्र गहिरोसम्म पुर्याएर निर्माण गरिएकाले उक्त पुल जोगिएको देखिएको हो ।
बाढीको तीव्र बहाव देख्दा आफूलाई समेत उक्त पुल जोगिन्छ भन्ने अपेक्षा नरहेको महानिर्देशक जैसीले बताउनुभयो । तर बाढीको बहाव गल्छी क्षेत्रमा आइपुग्दा केही कमजोर हुनुका साथै पुल रहेको स्थानमा नदी फैलिन सक्ने पर्याप्त ठाउँ भएकाले पुलमाथि बाढीको प्रत्यक्ष दबाब कम भएको उहाँको भनाइ छ ।
उहाँका अनुसार पुलको जग करिब १० देखि १५ मिटर गहिराइसम्म चट्टानभित्र पुर्याइएको थियो । चट्टानी भू–बनोटलाई बाढीले काट्न नसकेका कारण पुलको जग बलियो रहन सकेको हो ।
महानिर्देशक जैसीले भन्नुभयो, ‘यस पुललाई हेर्दाखेरि बाढी यहाँसम्म आइपुग्दासम्म माथिदेखिको डिस्चार्ज र स्पिड, त्यसको भेलोसिटी अलि मरिसकेको अवस्था थियो । अनि यो गल्छीमा पनि अलिकति फिजिन ठाउँ धेरै छ । फिजिन ठाउँ धेरै भएको र भाग्यवश हाम्रो यो बीचको स्पान पनि लामो परेको थियो ।’
उहाँका अनुसार यस्तै प्रकृतिको स्पान भएको तुप्चे क्षेत्रमा रहेको अर्को पुल भने बाढीले बगाएको छ । गल्छी क्षेत्रमा नदीको चौडाइ, चट्टानी सतह र पुलको संरचनागत डिजाइनले यसपटक पुल जोगिन सहयोग गरेको उहाँले बताउनुभयो ।
‘यहाँ रकको स्ट्राटा छ । यो पुललाई त्यही रकभित्र करिब १०–१५ मिटरजति भित्र पठाइएको थियो । त्यो रकलाई भेलले काट्न सकेन । अनि यता फिजिन ठाउँ पनि पाएर, भाग्यवश यो पुल बच्न गयो । अहिले हामीलाई ठूलो राहत महसुस भएको छ,’ उहाँले भन्नुभयो ।
‘महाप्रलयजस्तो अवस्था भयो’
महानिर्देशक जैसीका अनुसार यसपटकको बाढी सामान्य अनुमानभन्दा निकै ठूलो थियो । टिमुरे र रसुवागढी क्षेत्रमा बाढीको छाल करिब १०० मिटरमाथिसम्म पुगेको आकलन गरिएको उहाँले बताउनुभयो ।
यस्तो असाधारण प्रकृतिको बाढीमा सामान्य डिजाइन मापदण्डअनुसार निर्माण गरिएका संरचना जोगिन कठिन हुने उहाँको भनाइ छ ।
‘यो हाम्रो लागि नसोचेको, महाप्रलयजस्तो अवस्था भयो । हामीले सामान्यतः हाइड्रोलोजिकल प्यारामिटर र म्यानुअलका आधारमा पुल डिजाइन गर्छौं,’ उहाँले भन्नुभयो ।
सामान्य अवस्थामा नदीको सम्भावित पानीको डिस्चार्ज र आवश्यक ‘फ्री बोर्ड’लाई आधार बनाएर पुल डिजाइन गर्ने गरिएको भए पनि यसपटकको बाढीले विद्यमान अनुमानभन्दा निकै ठूलो बहाव ल्याएको उहाँले बताउनुभयो ।
‘हामीलाई टिमुरे र माथि रसुवागढीमा १०० मिटरमाथिसम्म छाल पुगेको भन्ने आकलन थियो । भनेपछि कुनै पनि पुल रहने कुनै सम्भावना नै थिएन । भाग्यवश हाम्रा त्रिशूलीमा केही पुलहरू जोगिएका छन्,’ जैसीले भन्नुभयो ।
उहाँले गल्छीको पुल स्याफ्रुबेँसीतर्फ त्रिशूली नदीमा बचेका महत्वपूर्ण पुलमध्ये एक भएको बताउँदै आफूहरूलाई समेत पुल जोगिएकोमा आश्चर्य लागेको उल्लेख गर्नुभयो ।
अब पुल निर्माणको डिजाइन मापदण्ड नै पुनरावलोकन
रसुवाको बाढीले पुल तथा सडक पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि सडक विभागले पुल निर्माणसम्बन्धी डिजाइन मापदण्ड पुनरावलोकन गर्ने तयारी गरेको छ ।
बाढीबाट क्षतिग्रस्त सडक तथा पुलहरूको स्थलगत निरीक्षणपछि महानिर्देशक जैसीले जलवायु परिवर्तनका कारण भविष्यमा यस्ता विपद्को जोखिम थप बढ्न सक्ने भएकाले पुल निर्माणको परम्परागत डिजाइन र मापदण्डमा पुनर्विचार आवश्यक भएको बताउनुभयो ।
हाल नेपालमा सामान्यतः हाइड्रोलोजिकल मापदण्डअनुसार १०० वर्षको ‘रिटर्न पिरियड’ लाई आधार मानेर पुलको डिजाइन, पानीको बहाव र आवश्यक ‘फ्री बोर्ड’ निर्धारण गर्ने गरिएको छ ।
तर जलवायु परिवर्तनका कारण नदीको बहाव, बाढीको तीव्रता र विपद्को प्रकृतिमा परिवर्तन आउँदै गएकाले पुराना मापदण्ड मात्र पर्याप्त नहुने विभागको निष्कर्ष छ ।
महानिर्देशक जैसीका अनुसार अब नेपालले आफ्नो भौगोलिक तथा जलवायु अवस्थासँग मेल खाने ‘क्लाइमेट–रेजिलेन्स’ पूर्वाधारसम्बन्धी आफ्नै मापदण्ड विकास गर्नुपर्नेछ ।
‘अब हामीले एकदमै क्लाइमेट–रेजिलेन्स खालका, लामा स्पानका पुलहरू निर्माण गर्नुपर्छ । त्यसका लागि हामी कोडहरू रिभाइज गर्छौँ र हाम्रो सामान्य ट्रेण्ड नै परिवर्तन गर्छौँ,’ उहाँले भन्नुभयो ।
अब सम्भव भएसम्म नदीको बीचमा पिल्लर नराख्ने, लामो स्पान भएका तथा अग्ला पुल निर्माण गर्ने दिशामा जानुपर्ने उहाँको भनाइ छ ।
‘लाइफलाइन’ पुललाई विशेष प्राथमिकता
सडक विभागले रणनीतिक महत्वका तथा आपत्कालीन अवस्थामा अत्यावश्यक हुने ‘लाइफलाइन’ पुललाई विशेष श्रेणीमा राखेर निर्माण तथा सुदृढीकरण गर्ने विषयमा समेत छलफल अघि बढाएको छ ।
महानिर्देशक जैसीका अनुसार देशका रणनीतिक स्थानमा रहेका केही पुललाई विशेष महत्वका पुलका रूपमा वर्गीकरण गरी पर्याप्त स्रोतसाधन उपलब्ध गराएर अझ बलियो र लामो स्पानका बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
‘रणनीतिक लोकेसन हेरेर कुनै–कुनै पुल लाइफलाइन पुल हुन्छन् । त्यस्ता पुलहरूलाई विशेष ‘ए ग्रेड’ महत्वपूर्ण पुलका रूपमा छुट्याएर विशेष स्रोतबाट निर्माण गर्ने, अझ बलियो र लामा बनाउने भन्ने विषयमा अब विभागले जानुपर्छ कि भनेर हामी अहिले एकदमै गम्भीर रूपमा मन्थन गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ।
यसपटकको भोटेकोशी बाढीले सडक र पुलजस्ता पूर्वाधार निर्माणमा जलवायु परिवर्तन तथा असामान्य बाढीको जोखिमलाई नयाँ ढंगले मूल्याङ्कन गर्नुपर्ने आवश्यकता देखाएको छ ।
सामान्य बाढीको अनुमानका आधारमा तयार गरिएका डिजाइनले भविष्यमा आउने अत्यधिक बाढी थेग्न नसक्ने भएकाले पूर्वाधार निर्माणको मापदण्डमै परिवर्तन आवश्यक देखिएको सडक विभागको भनाइ छ ।
– न्युज एजेन्सी नेपाल
