आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला महानिर्देशक र आयोजना निर्देशकलाई प्रहरीले काठमाडौं ल्यायो
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया निर्णायक चरणमा पुगेका बेला सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार रजौरियालाई सिरहा र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको हो। प्रहरी स्रोतका अनुसार उनीहरूलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको छ। दुवैलाई प्रहरी हिरासतमा नराखिएको र नियन्त्रणमा लिनुको औपचारिक कारणसमेत सार्वजनिक नभएको जनाइएको छ।
प्रहरी स्रोतले माथिबाट आएको निर्देशनअनुसार उनीहरूलाई काठमाडौं ल्याइएको जनाएको छ। उनीहरूलाई सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासँग सम्बन्धित विषयमा नियन्त्रणमा लिइएको हुन सक्ने बताइए पनि उनीहरूमाथि लागेको आरोपबारे आधिकारिक विवरण बाहिर आएको छैन।
यसअघि सिँचाइ विभागले पुरानो निर्माण सम्झौता अन्त्य गर्दै आयोजनाका बाँकी कामका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढाएको थियो। तत्कालीन अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङको कार्यकालमा गत वर्ष कात्तिकमा पटेल–रमण जेभीसँगको ठेक्का रद्द गरिएको थियो।
त्यसपछि सुरु भएको नयाँ ठेक्का प्रक्रिया अहिले आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको थियो। सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी कम्पनीमध्ये तीनवटाको प्राविधिक प्रस्ताव योग्य ठहर गरिएको थियो।
आयोजनाले २७ असोज २०८३ मा सार्वजनिक गरेको सूचनाअनुसार चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई), एनेङ–आरसीसी जेभी र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड प्राविधिक रूपमा योग्य भएका थिए।
सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जीपी प्रणालीमार्फत अघि बढाइएको प्रक्रियामा यी तीन कम्पनीको आर्थिक प्रस्ताव खोल्ने तयारी थियो। त्यसका लागि आयोजनाले बोलपत्रदातालाई आगामी सोमबार अर्थात् १६ कात्तिकमा उपस्थित हुन अनुरोधसमेत गरेको थियो।
तर, आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला विभागका महानिर्देशक र आयोजना निर्देशक नै नियन्त्रणमा परेपछि नयाँ ठेक्का प्रक्रिया प्रभावित हुन सक्ने देखिएको छ। यसले आयोजनाको आगामी निर्माण कार्यबारे पनि अन्योल थपेको छ।
के हो सुनकोशी–मरिण डाइभर्सन आयोजना ?
मधेस प्रदेशका पाँच जिल्लामा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय गौरवको आयोजना हो। धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ।
२०७७ सालमा शिलान्यास गरिएको यस आयोजनाअन्तर्गत सुनकोशी नदीको पानी सुरुङमार्फत कमलामाई नगरपालिकाको कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ। त्यसपछि मरिण नदी हुँदै बागमती सिँचाइ आयोजनाको संरचनाबाट तराईका खेतसम्म पानी पुर्याउने योजना छ।
आयोजनामा सुरुङ निर्माणको काम अघि बढे पनि बाँध तथा अन्य संरचना निर्माणले अपेक्षित गति लिन सकेको थिएन। बाँध निर्माणका लागि १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँको ठेक्का पाएको कम्पनीले काम सुरु गरेको ३० महिनासम्म जम्मा ७ प्रतिशत मात्रै प्रगति गरेको थियो। यही ढिलाइलाई आधार बनाएर सरकारले पुरानो ठेक्का अन्त्य गरेको थियो।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८१ वैशाख २६ गते आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको घोषणा गर्दै ब्रेक थ्रु गरेका थिए। सुरुङ निर्माणमा उल्लेख्य प्रगति भए पनि बाँध र अन्य संरचनाको काम भने सुस्त रह्यो।
हाल आयोजनाको समग्र भौतिक प्रगति करिब ३५ प्रतिशत पुगेको छ। सरकारले २०८४ असोजसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ।
पुरानो ठेक्का रद्द गरेर नयाँ प्रक्रियामार्फत निर्माणलाई गति दिने तयारी भइरहेका बेला जिम्मेवार अधिकारीहरू नियन्त्रणमा परेपछि आयोजनाको ठेक्का प्रक्रिया र निर्धारित समयमै काम सम्पन्न गर्ने लक्ष्य दुवै प्रभावित हुने आशंका बढेको छ।
