काठमाडौं । मधेसकेन्द्रित राजनीतिक दल र तिनका पुराना नेतृत्वप्रति जनविश्वास कमजोर हुँदै गएको भन्दै मधेसको राजनीतिक नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवाज उठ्न थालेको छ। जेनजी आन्दोलनपछि युवाहरूले विभिन्न अभियानमार्फत राजनीतिक परिवर्तन र पुस्तान्तरणको माग अघि सारेका छन्।
मधेसका युवाहरूले पुरानै नेतृत्व र कार्यशैलीबाट राजनीतिक समस्या समाधान हुन नसक्ने भन्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन दबाब सिर्जना गरिरहेका छन्। यसक्रममा तराई–मधेसका केही युवाले ‘हुङ्कार मधेस’ नामक अभियान गठन गरी गतिविधि सञ्चालन गरिरहेका छन्।
त्यस्तै, शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानले पनि मधेसको राजनीतिमा युवा सहभागिता र नेतृत्व विकासलाई केन्द्रमा राखेर ‘मधेस अबको बाटो’ अभियान अघि बढाएको छ। प्रतिष्ठानले काठमाडौंसहित मधेसका विभिन्न जिल्लामा युवासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ।
यसै अभियानअन्तर्गत सामाजिक अभियन्ता सञ्जय यादवको अगुवाइमा शनिबार बाराको कलैयामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा मधेस आन्दोलनको पृष्ठभूमि, त्यसबाट प्राप्त उपलब्धि, विद्यमान चुनौती र आगामी राजनीतिक तथा सामाजिक दिशाबारे छलफल गरिएको थियो। सहभागीहरूले मधेसको राजनीतिमा नयाँ पुस्ताको भूमिका विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नागरिक अगुवा उमेशलाल दासले वर्तमान सरकारले मधेसका मुद्दा सम्बोधन गर्न नसके युवाहरू आफैँ अघि सरेर नेतृत्व लिनुपर्ने धारणा राखेका थिए।
मधेस प्रदेशका पूर्वसांसद तथा जनता समाजवादी पार्टीबाट हालै अलग भएका विक्की यादवले मधेसको भविष्य निर्माणमा मधेसी युवाकै नेतृत्वदायी भूमिका आवश्यक रहेको बताए। उनले मधेसको राजनीतिक विकल्प मधेसभित्रैबाट खोज्नुपर्ने धारणा राख्दै नेतृत्व हस्तान्तरणको आवश्यकता औँल्याए।
त्यस्तै, अधिवक्ता आनन्द गुप्ताले जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक परिवेशमा आएको परिवर्तनले पुराना दल र नेतृत्वप्रतिको विश्वासमा प्रश्न उठाएको बताए। मधेसको राजनीतिलाई नयाँ ढङ्गले अघि बढाउन युवाहरू संगठित भएर लाग्नुपर्ने उनको भनाइ थियो।
स्थानीय महिला नेतृ हिरमति कुशवाहाले पनि मधेसमा स्वच्छ छवि र जनताप्रति उत्तरदायी नेतृत्वको आवश्यकता रहेको धारणा व्यक्त गरेकी थिइन्।
मधेसको राजनीतिक भविष्य, नेतृत्वको जवाफदेहिता र युवा सहभागिताबारे पछिल्लो समय भइरहेका यस्ता छलफलले पुस्तान्तरणको बहसलाई थप अघि बढाएको छ।
