ह्याकरहरूले दुवै देशका नागरिकलाई लक्षित गरी झुटा आपत्कालीन सन्देश पठाएका थिए। ती सन्देशमा रेडिएसनको जोखिम र परमाणु आक्रमण हुन सक्ने चेतावनीसमेत समावेश गरिएको थियो। फर्जी सूचनाका कारण केही समय नागरिकमा त्रास फैलिएको थियो।
रूसको आपत्कालीन मन्त्रालयले आफ्नो अलर्ट एपमा ठूलो स्तरको साइबर आक्रमण भएको जनाएको छ। मन्त्रालयका अनुसार आक्रमणकारीहरूले प्रणालीको दुरुपयोग गरी नागरिकमाझ भ्रामक सूचना पठाउने प्रयास गरेका थिए।
यद्यपि मन्त्रालयले देशको सार्वजनिक आपत्कालीन चेतावनी प्रणाली भने सामान्य रूपमा सञ्चालन भइरहेको स्पष्ट पारेको छ।
यता युक्रेनको एयर रेड वार्निङ एपमार्फत पनि साइबर आक्रमणपछि नक्कली चेतावनीहरू पठाइएको विवरण सार्वजनिक भएको छ।
युक्रेनको सेन्टर फर स्ट्राटेजिक कम्युनिकेसन्सले उक्त साइबर आक्रमणमा रूसको संलग्नता रहेको आरोप लगाएको छ।
संस्थाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यसबारे जानकारी दिँदै युक्रेनको एयर रेड चेतावनी एपमा देखिएका केही सन्देशका तस्बिरसमेत सार्वजनिक गरेको छ।
दुवै देशका आपत्कालीन चेतावनी प्रणालीलाई लक्षित गरी भएका यी घटनाले युद्धको अवस्थामा डिजिटल प्रणालीमार्फत फैलाइने भ्रामक सूचनाले नागरिकको सुरक्षामा पार्न सक्ने जोखिमलाई उजागर गरेको छ।
