सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गोलानले इरानसँग अर्को चरणको युद्ध वा सैन्य मुठभेडको सम्भावना तीव्र रूपमा बढिरहेको बताएका छन्।
अमेरिकामा आगामी मङ्गलबार हुने मध्यावधि निर्वाचनलगत्तै वासिङ्टन र तेल अभिभले इरानमाथि ठूलो सैन्य आक्रमण गर्न सक्ने विषयमा इजरायली तथा अमेरिकी सञ्चारमाध्यममा समाचार सार्वजनिक भइरहेका बेला गोलानको यस्तो प्रतिक्रिया आएको हो।
नेतान्याहुको नेतृत्व क्षमतामाथि प्रश्न
इजरायली सेनाका पूर्वउपसेनाप्रमुखसमेत रहेका गोलानले इरानसँग पटकपटक सैन्य संघर्षको अवस्था सिर्जना हुनु नेतान्याहुको नेतृत्वको असफलताको प्रमाण भएको टिप्पणी गरेका छन्।
उनका अनुसार इजरायललाई निरन्तर युद्धको अवस्थामा पुर्याउने नेतृत्वसँग अर्को सैन्य अभियान सञ्चालन गर्ने नैतिक आधार र आवश्यक क्षमता दुवै छैन।
गोलानले प्रधानमन्त्री नेतान्याहु, रक्षामन्त्री इजरायल कात्ज र राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन–गभिरको हातमा देशको सुरक्षा जिम्मेवारी रहिरहनु राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको बताएका छन्। उनले वर्तमान नेतृत्व परिवर्तन गर्नुपर्ने मागसमेत गरेका छन्।
निर्वाचनपछि सरकार गठनमा अन्योल
इजरायलमा सम्पन्न १२५औँ नेसेट अर्थात् संसद्को निर्वाचनमा कुनै पनि राजनीतिक पक्षले सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत प्राप्त गर्न सकेन।
प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी र उसका धार्मिक तथा कट्टरपन्थी सहयोगी दलहरूले १२० सदस्यीय संसद्मा ५३ सिट जितेका छन्।
त्यस्तै, गादी इसेनकोट, नाफ्ताली बेनेट र याइर गोलानलगायतका विपक्षी यहुदी दलहरूले ४८ सिट प्राप्त गरेका छन्। अरब तथा प्यालेस्टिनी दलहरू जोइन्ट लिस्ट र राअमले भने १९ सिट जितेका छन्।
संसद्मा नेतान्याहुको विपक्षमा रहेका दलहरूको कुल सिट सङ्ख्या ६७ पुगेको छ। यसै आधारमा गोलानले अरब दलहरूको समर्थनसमेत जुटाएर वैकल्पिक सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
उनका अनुसार इजरायलको राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न र नागरिकको संरक्षणका लागि नयाँ सरकार गठन गर्नु आवश्यक छ।
निर्वाचनपछि उत्पन्न राजनीतिक अवस्थाले इजरायलमा अरब दलहरूको समर्थनमा वैकल्पिक सरकार बनाउने, राष्ट्रिय सहमतिको सरकार गठन गर्ने वा पुनः निर्वाचनमा जाने विकल्पबारे बहस बढाएको छ।
कानुनी विवादमा पनि नेतान्याहु
७६ वर्षीय प्रधानमन्त्री नेतान्याहु राजनीतिक चुनौतीसँगै कानुनी विवादमा समेत घेरिएका छन्।
उनीमाथि घुसखोरी, ठगी र पदको दुरुपयोगसम्बन्धी आरोपमा इजरायलको अदालतमा मुद्दा चलिरहेको छ। ती आरोपमा दोषी ठहरिए उनलाई जेल सजाय हुन सक्नेछ।
यसका अतिरिक्त, गाजा क्षेत्रमा अक्टोबर २०२३ देखि जारी युद्धका क्रममा प्यालेस्टिनी नागरिकमाथि युद्ध अपराध तथा मानवताविरुद्धको अपराध गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सन् २०२४ मा नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त नभएपछि इजरायलको आन्तरिक राजनीतिक समीकरण थप जटिल बनेको छ। यही परिस्थितिमा इरानसँग सम्भावित सैन्य तनावको विषय पनि चर्चामा आएको छ।
विपक्षी नेता गोलानले नेतान्याहुको नेतृत्वमा अर्को युद्ध सुरु हुन सक्ने आशंका व्यक्त गर्दै राजनीतिक निकासका लागि नयाँ सरकार गठनमा जोड दिएका छन्।
