काठमाण्डु गोर्खाजमा अनुबन्धित वार्नर आइतबार साँझ काठमाडौं अवतरण गरेका हुन्। उनको आगमनसँगै टोलीले आगामी खेलमा ब्याटिङ थप मजबुत हुने अपेक्षा गरेको छ।
काठमाण्डु गोर्खाजले आज मध्याह्न १२ः३० बजे कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलमा वार्नर पनि मैदानमा उत्रिन सक्ने सम्भावना रहेको छ।
एनपीएलमा आबद्ध भएका चर्चित विदेशी खेलाडीमध्ये वार्नर पनि एक हुन्। ३९ वर्षीय यी अस्ट्रेलियन ब्याटरले नेपालमा क्रिकेट खेल्न आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।
अस्ट्रेलियाका सफल ब्याटरमध्ये पर्ने वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै प्रारूपमा गरी कुल १८ हजार ९९५ रन बनाएका छन्। उनले टेस्ट क्रिकेटमा ८ हजार ७८६, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा ६ हजार ९३२ र टी–२० अन्तर्राष्ट्रियमा ३ हजार २७७ रन जोडेका छन्।
वार्नर अस्ट्रेलियाका लागि टेस्ट, ओडीआई र टी–२० अन्तर्राष्ट्रिय तीनवटै प्रारूपमा शतक बनाउने खेलाडी हुन्। उनले सन् २०१९ मा पाकिस्तानविरुद्ध अविजित ३३५ रनको ऐतिहासिक इनिङ खेलेका थिए।
पहिलो खेलमा पराजय व्यहोरेको काठमाण्डु गोर्खाजका लागि वार्नरको आगमन महत्त्वपूर्ण मानिएको छ। उनको उपस्थितिले टोलीको ब्याटिङ क्षमता थप बलियो हुने अपेक्षा गरिएको छ।
