ओखलढुंगा । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले ओखलढुंगामा जिल्ला अधिवेशन आगामी कात्तिक २१ गते गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको १५औँ महाधिवेशन तयारी समितिको बैठकले अधिवेशनको मिति निर्धारण गरेको नेता डेकराज भट्टराईले जानकारी दिएका छन् ।
बैठकमा जिल्ला संयोजक बालगोविन्द राजभण्डारी, केन्द्रीय प्रतिनिधि गोमा केसी, नवनिर्वाचित पालिका सभापति तथा प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिहरू सहभागी थिए ।
भट्टराईका अनुसार जिल्लाका पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको छ । अब जिल्ला अधिवेशनमार्फत केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि चयन गरिनेछ ।
यसैबीच, कांग्रेसको नियमित महाधिवेशन पक्षधरले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । उक्त कार्यतालिकाअनुसार कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ ।
