कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएका हुन्। उनको आगमनले टोलीको शीर्षक्रमको ब्याटिङ थप मजबुत हुने विश्वास अध्यक्ष घिमिरेले व्यक्त गरे।
जिशन पछिल्लो समय राम्रो लयमा रहेकाले उनलाई टोलीमा समावेश गरिएको घिमिरेले बताए। टोलीमा यसअघि नै दुई बंगलादेशी खेलाडी रहेकाले जिशनलाई पनि नेपाली वातावरणमा घुलमिल हुन सहज हुने उनको भनाइ छ।
जिशन कर्णाली याक्समा आबद्ध हुने तेस्रो बंगलादेशी खेलाडी हुन्। यसअघि अरिफुल इस्लाम र अकबर अली टोलीमा अनुबन्ध भइसकेका छन्।
२१ वर्षीय जिशन ब्याटिङ अलराउन्डर हुन्। उनले बंगलादेशको यू–१९ टोली हुँदै राष्ट्रिय ए टोलीबाट समेत खेलिसकेका छन्। बंगलादेशका फ्रेन्चाइज प्रतियोगितामा उनले राजशाही वारियर्स र दुरबार राजशाहीको प्रतिनिधित्व गरेका छन्।
जिशनले लिस्ट ए क्रिकेटका ४९ खेलमा १ हजार २९५ रन बनाएका छन्। त्यस्तै, २७ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनको नाममा ५७१ रन रहेको छ।
अस्ट्रेलियामा आयोजित टप एन्ड टी–२० शृंखलामा नेपालविरुद्धको खेलमा पनि उनले प्रभावशाली प्रदर्शन गरेका थिए। बंगलादेशले उक्त खेलमा ९ विकेटको जित निकाल्दा जिशनले अविजित ५२ रन बनाएका थिए। उनले २९ बलको सामना गर्दै तीन चौका र चार छक्का प्रहार गरेका थिए।
सोही खेलमा कर्णाली याक्सबाट खेलिरहेका अर्का बंगलादेशी खेलाडी अरिफुल इस्लामले पनि ३४ रन बनाएका थिए।
कर्णाली याक्सले सोमबार प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा काठमाण्डु गोर्खाजसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलमा जिशन पनि टोलीका लागि उपलब्ध हुनेछन्।
प्रतियोगितामा कर्णालीले सुरुवाती दुवै खेल जित्दै उत्कृष्ट सुरुवात गरेको छ। पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको कर्णालीले दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो। लगातार दुई जित निकालेको टोली तेस्रो खेलमा पनि आफ्नो लय कायम राख्ने लक्ष्यमा हुनेछ।
