दसैँलाई लक्षित गर्दै ‘कबड्डी’, ‘आ बाट आमा–२’, ‘छ माया छपक्कै–२’ र ‘१२ गाउँ–२’ लगायतका फिल्म प्रदर्शनमा आएका थिए। पहिलो भागले दर्शकको राम्रो साथ पाएका कारण यी सिक्वेलप्रति पनि अपेक्षा उच्च थियो। तर, प्रदर्शनपछि अधिकांश फिल्मले अपेक्षाअनुसार व्यापार गर्न सकेनन्।
चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार ‘कबड्डी : आफ्टर द फाइनल म्याच’ले हालसम्म १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ कमाइ गरेको छ। फिल्मले तीन लाख ४६ हजारभन्दा बढी टिकट बिक्री गरेको छ।
प्रदर्शनमा आएका फिल्ममध्ये ‘कबड्डी’ले तुलनात्मक रूपमा धेरै शो पाएको थियो। त्यसको फाइदा उठाउँदै फिल्मले सुरुवाती दिनदेखि नै राम्रो व्यापार गरेको थियो।
बक्स अफिसमा दोस्रो स्थानमा भने रामबाबु गुरुङको अभिनय रहेको अर्को फिल्म ‘पेन्सन पट्टा’ छ। उक्त फिल्मले १० करोड २८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।
त्यसपछि ‘आ बाट आमा–२’ तेस्रो स्थानमा रहेको छ। यस फिल्मले हालसम्म ६ करोड २४ लाख ७० हजार रुपैयाँभन्दा बढी कमाइ गरेको छ।
त्यस्तै, ‘बा एक योद्धा’ले तीन करोड ५४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दा ‘छ माया छपक्कै–२’ले तीन करोड ३४ लाख रुपैयाँ कमाएको छ।
यस सूचीको अन्तिम स्थानमा रहेको ‘१२ गाउँ–२’ले भने दुई करोड २९ लाख रुपैयाँभन्दा बढी व्यापार गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा उल्लेख छ।
यसैबीच, हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये ‘गौंथली’ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। यसले ३६ करोड सात लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।
