काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिसम्बन्धी निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ। सिंहदरबारमा जारी बैठकले थापाको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ।
यसअघि असोज २८ गते भएको सुनुवाइका क्रममा थापासँग जापानको स्थायी बसोबास अनुमति (पीआर) रहेको विषय उठेपछि समितिले निर्णय प्रक्रिया अघि बढाएको थिएन। सांसदहरूले उनको पीआरसम्बन्धी अवस्थामाथि प्रश्न उठाएका थिए।
सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्ट पारेका थिए। तर सांसदहरूले संविधानको धारा २९१ मा रहेको व्यवस्थासँगै उनले पीआर कुन समयमा त्यागेका हुन् भन्ने विषयमा थप जानकारी माग गरेका थिए।
विवादित विषय स्पष्ट पार्न समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग आवश्यक विवरण मागेको थियो। तर अहिलेसम्म जापानबाट त्यसको जवाफ प्राप्त नभएको स्रोतले जनाएको छ।
जापान सरकारको जवाफ नआइसकेकै अवस्थामा समितिको बैठक बसेको हो। बैठकले प्रस्तावित राजदूतको विषयमा के निर्णय गर्छ भन्ने चासो बढेको छ।
