युवा राजनीतिकर्मीले विगत र वर्तमानसँगै मुलुकको भविष्य र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा पनि गम्भीर बहस गर्नुपर्ने उनको भनाइ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले सरकारमा जुनसुकै दल रहे पनि नेपालको परराष्ट्र नीतिमा एकरूपता हुनुपर्ने धारणा राखेकी छन्।
चीनको शासन सञ्चालनका प्राथमिकता र त्यसले नेपाल–चीन सम्बन्धमा पार्न सक्ने प्रभावबारे सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितसँग जोडिएको परराष्ट्र नीति दलगत सत्ता परिवर्तनअनुसार फरक हुन नहुने बताएकी हुन्।
फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल–चाइना फ्रेन्डसिप फोरमले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा सांसद धितालले राजनीतिमा सक्रिय युवा नेताहरूले विगतका घटना र वर्तमान अवस्थाबारे मात्रै केन्द्रित नभई देशको दीर्घकालीन भविष्यबारे पनि सोच्नुपर्ने बताइन्।
उनले नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्धका विषयमा युवापुस्ताबीच गम्भीर तथा सार्थक बहस आवश्यक रहेकोमा जोड दिइन्।
